झुम्काकी संक्रमित महिलाका आफन्तको रिपोर्ट नेगेटिभ

विराटनगर । सुनसरीको झुम्काबाट भक्तपुर पुगेपछि कोरोना संक्रमित भेटिएकी महिलाको परिवार र उनको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

लकडाउन अगाडि रामधुनी–४ स्थित फुपूको घरमा बसेकी भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स वैशाख २९ गते मोटरसाईकलमा काठमाडौं पुगेकी थिइन् ।

संक्रमित युवतीका आफन्त सबैको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राले जानकारी दिनुभयो । कन्ट्रयाक ट्रेसिङकै आधारमा पहिलो चरणमा युवतीको घरमा रहेका ४ जना सदस्य, बाइकमा पुराउने व्यक्ति, छिमेकी गरि १९ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो ।

उनको कोरोना परीक्षणमा कोरोना भएको पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा १८ जनाको रिपोर्ट नेगेटिभ आएको रामधुनी नगरपालिकाले जानकारी दिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका अनुसार एक जनाको रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षण भइरहेको छ ।

संक्रमित स्टाफ नर्स भक्तपुरमा साथीको कोठामा बसेकी थिइन् । उनको साथीको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनलाई अहिले टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

शनिबार, ०३ जेठ, २०७७, बिहानको ०९:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर