अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मानव तस्करी तथा किर्ते प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् । कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेकोमा उनीहरुलाई १४ गते जापानले डिपोर्ट गरेको थियो ।

शंकास्पद काजगातको आधारमा जापान छिर्न खोजेको फेला पारेपछि त्यहाँको अध्यागमनले टोकियो विमानस्थलबाट उनीहरुलाई डिपोर्ट (निष्कासन) गरेको थियो । डिपोर्टपछि अधिकारी विमानस्थलमा मन्त्रीको परिचयपत्र देखाएर निस्किएकोमा तीन जना पक्राउ परेका थिए । उनीहरुको बयानको आधारमा बिचौलियाहरु धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल पक्राउ परेका थिए ।

मानब तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले उनलाई निलम्बन गरेको थियो । तर, प्रहरी अनुसन्धानबाट उनी बाहिर थिए । चौतर्फी दबाबपछि आइतबार विराटनगस्थित निवासबाटै प्रहरीले अधिकारीलाई पक्राउ गरेर काठमाडौं लगेको थियो ।

आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा सोमबार मात्र प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।

जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको आरोपमा ओखलढुंगाका गुढी राई र नविन राई पक्राउ परेका हुन् । जापान उड्ने दिन आरोपीहरुले राईद्वयलाई भेटेर परिचय पत्र बनाउन लगाएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले बागबजारमा जापान जान खोजेका तीन जनाको खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।

मङ्गलबार, २७ कार्तिक, २०८१, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर