विराटनगर । विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक भारतीय कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
गत वैशाख ५ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका २५ वर्षिय मोहम्वद अदुबकर सुल्तानले २७ दिनको उपचारपछि कोरोना जितेका हुन ।
उनीसँगै भर्ना भएका १२ जमातीमध्ये ७ जना यसअघि नै डिस्चार्ज भइसकेका छन् । कोरोनामुक्त भएका भारतीयलाई बिहीबार जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले विदाई गर्नुभयो ।
योसँगै कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । डिस्चार्ज भएकाहरु मध्ये ५ जना उदयपुरका, २ जना विराटनगरका, १ जनाभोजपुरका १ जना झापाका र ८ जना भारतीय छन् ।
यसअघि गत २४ वैशाखमा ६ जना, २६ वशाखमा ८ जना र २८ वैशाखमा २ जना कोरोनामुक्त भई जितेर डिस्चार्ज भएका थिए । अब अस्पतालमा १८ जना उपचाररत छन् ।
अस्पतालको आइसोलसनमा १८ जना उपचाररत् छन्। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। थप ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । अब अर्को परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएमा उनीहरु डिस्चार्ज हुनेछन् ।