काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि दार्चुलाको कालापानी क्षेत्र नजिकै राख्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट आज स्थापना हुने भएको छ ।
बिओपी स्थापना गर्न सुरक्षा अधिकारीहरुको टोली बुधबार विहानै काठमाडौंबाट त्यसतर्फ गएको छ। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा ईन्द्रजित राईसहितको टोली त्यसतर्फ गएको हो। टोलीले पहिलो चरणमा दार्चुलाको खलंगा पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको छ।
सशस्त्रको पोष्टका लागि आवश्यक सामग्री ओसार्न बुधबार दिनभरिका लागि नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरिएको गृहमन्त्रालयले जनाएको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि सशस्त्र प्रहरी लैजान लागिएको हो।
गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भएपनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले सो क्षेत्रको नेपाली भूमि अतिक्रमण गरेर सडक बनाइसकेको सार्वजनिक भएपछि गृहमन्त्री रामबहादुर थापाले तत्काल सुरक्षा पोष्ट स्थापना गर्न निर्देशन दिनुभएको थियो ।
कालापानीबाट १० किलोमिटर वर व्यास गाउँपालिकाको छारुङमा सशस्त्रको सीमा सुरक्षाा पोष्ट स्थापना हुनेछ । सो क्षेत्रमा नेपाल प्रहरीको दुईटा चौकीका जनशक्ति पनि जाने भएका छन् । छाङरुबाट तिंकर १४ किलोमिटर उत्तरमा पर्छ। तिंकरबाट तिब्बत सीमा पुग्न हिँडेर ५/६ घण्टा लाग्छ।
भारतले गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक उद्घाटन गरेको थियो ।