विराटनगर । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापाक रुपमा विस्तार भइहरेको बेला लकडाउन छलेर सीमा क्षेत्रबाट आवतजावत नरोकिँदा थप जोखिम बढेको छ ।
सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेकोमा भारतबाट हुने आवतजावत नरोकिँदा नेपालमा पनि कोरोना फैलँदै गएको छ ।
सरकारले लकडाउनमा भारतबाट आउनेलाई भित्रन नदिने नीति लिएपनि त्यसको प्रभाबकारी कार्यान्वयन नहुँदा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ । जसको कारण उनीहरुबाटै पछिल्लो एक सातामा नेपालमा संक्रमितको संख्या दोब्बरले बढेको छ ।
रोजगारीको लागि नेपाल आएका तथा भारत गएकाहरु अहिले आफ्नो मुलुक फर्कन चाहिरेका छन् । सरकारले औपचारिक रुपमा नेपाल प्रवेशमा रोक लगाएपछि विभिन्न बिचौलियाहरुमार्फत नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।
मंगलबार विराटनगर–१८ स्थित भेडियारीबाट सीमा पार गराउने २ जना विचौलियाहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग पैसा लिएर नेपालबाट भारत प्रवेश गराउने क्रममा प्रहरीले दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रान्सपोर्ट सम्बन्धि काम गर्ने विराटनगर–६ का २६ बर्षीय अख्तर आलम र ३८ बर्षीय मुबारक हुस्सैन पक्राउ परेका हुन् ।
उनीहरुले अलपत्र परेका नागरिहरुसँग ५ हजारदेखि १० हजार रुपैयाँसम्म लिएर रातको समयमासीमा नाका पार गराउने गरेको खुलेको छ । मंगलबार विहानको राति भारतको राजस्थानस्थित नागौर जिल्लाका ३१ बर्षीय सुरेश चौहान, ३२ बर्षीय लोडुराम, २१ बर्षीय गिरधारीलाल र ५२ बर्षीय रामकरण राम लगायतका नागरिकहरुलाई भारत प्रवेश गराउने क्रममा विराटनगर–१८ भेडियारीस्थित रेलवे लिकको छेउबाट उनीहरु पक्राउ परेका हुन् ।
सुनसरीको दुहबीस्थित कमला रोलिङ मिल्समा काम गर्ने भारतीयहरुले सीमा पार गर्न जनही ४ हजार भारु तिरेको बताएका छन् । विचौलियाहरुको निर्देशनमा मङ्गलबार राति भारत प्रवेश गर्न खोज्दा उनीहरु पनि पक्राउ परेका छन् ।