अनन्तराज न्यौपाने
सशस्त्र र नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान अनि सिडिओका बिच तस्करीका विषयमा भएको रडाकोका बारेमा दुई हप्ताअघि यसै ठाउँमा स्तम्भ लेखेको थिएँ । शीर्षक थियो– मौसेरा भाइको रोचक कहानी यस्तो छ ।स्तम्भ पढेर प्रहरी, प्रशासन, सशस्त्र र अनुसन्धानका टाउकेले कुनै प्रतिक्रिया जनाएनन् किनकि उनीहरूमा फेस गर्ने कुनै मोरल पावर थिएन । तर उनीहरू नआए पनि तिनले लाउके भने पठाए ।
तीन–चार लाउके पालैपालो आए र भने, ‘तपाईंले लेखेर के हुन्छ ? यो तस्करी र भ्रष्टाचारको जालो माथिदेखि नै झ्याँगिएको छ । झ्याँगिएको यो सञ्जालबाट हाम्रा हाकिम कसरी पृथक् रहन सक्नुहुन्छ ? उनीहरू यहाँ टेन्डर बढाबढको प्रतिस्पर्धा जितेर आएका हुन् । कबोलेको रकम माथि पठाउनै पर्छ । त्यसका लागि ह्याङ्की–प्याङ्की नगरी कसरी हुन्छ ?’लाउकेहरूका शब्द फरक थिए होलान्, तर भाव र सार यस्तै थियो । खासमा उनीहरू आफ्ना हाकिमले गरेका कुकृत्य नलेखिदिन हल्का दबाब र बढी अनुरोध गर्न आएका थिए । एक छिन कुरा गरे । एक कप चिया रित्याए र गए ।उनीहरूसित कुरा गरेको एक हप्तापछि म अहिले सोचिरहेको छु– के आफ्नो मातहतको माथिल्लो निकाय भ्रष्ट भयो भन्दैमा आफू पनि त्यस्तै हुनु जरुरी छ ? के कुनै पनि कर्मचारी वा सुरक्षाकर्मी आफू खटिएका ठाउँमा आफ्नो स्वच्छ छवि कायम राखेर बस्न सक्तैन ? के सीमा क्षेत्रमा खटिनेबित्तिकै नाकाबाट हुने अवैध कारोबारलाई संरक्षण गर्नैपर्छ ?
यी प्रश्नहरूले घोचिरहँदा मैले पूर्वमै प्रहरी–प्रशासनको नेतृत्व गरेका केही अनुहार सम्झिएँ । ती अनुहार आफ्नो संगठनका नमुना हुन् । ती नाम पछिल्लो पुस्ताका लागि प्रेरणा र ऊर्जाका स्रोत हुन् । र, ती व्यक्तित्व इन्टीग्रिटीको इतिहासमा लामो समय स्मरणीय हुनेछन् ।
जस्तो कि, मोरङका पूर्व सिडिओद्वय मोदराज डोटेल र गणेशराज कार्की । दोस्रो जनआन्दोलन सफल हुनेबित्तिकै डोटेल मोरङमा सिडिओ भएर आएका हुन् । त्यो एक संक्रमण काल थियो । उनी सिडिओ हुँदा मधेस आन्दोलन भयो । यस्तो बेला नाकामा जे गरे पनि हुन्थ्यो । त्यस बेलाका गृहमन्त्री र गृह मन्त्रालयको माथिल्लो निकाय स्वच्छ थिए भनेर ठोकुवा गर्न सकिन्न । तर डोटेलले कसैले नसोचेको इन्टिग्रिटी देखाए । मधेस आन्दोलनले सृजना गरेको अराजकता, अस्तव्यस्तता र उहापोहको फाइदा उठाएर उनी बोरामा नोट खाँदेर लिएर जान सक्थे । तर आफ्नो निष्ठामा अटल देखिए ।
अर्का सिडिओ गणेशराज कार्की त्यस्तै नीडर र स्वच्छ छविका थिए । उनी सिडिओ भएका बेला विराटनगरमा एडिबीको नालानिर्माण भर्खर सुरु भएको थियो । यही मौका छोपेर इटा व्यवसायीले कार्टेलिङ गरे । अनि प्रति गोटा १४ रुपैयाँको इटालाई एकै चोटि १८ बनाउन खोजे । यस प्रकरणमा सिडिओ कार्कीलाई करोडौँको अफर आयो तर उनले यसलाई ठाडै अस्वीकार मात्र गरेनन् इटाको मूल्य पनि १८ बनाउन दिएनन् । हो, धेरै वर्षदेखि इटाको मूल्यवृद्धि भएको थिएन तर १४ को एकैचोटि १८ हुने अवस्था पनि थिएन । कार्कीले यसमा मोरल हस्तक्षेप गरे र १५ निर्धारण गर्न लगाए । यसरी उनले एउटा हुनलागेको ब्रह्मलुट रोकिदिए ।
उनै कार्कीले मोरङका क्रसर उद्योगमा पहिलो पटक अनुगमन र नियमन गरे । ग्यास उद्योगको निरीक्षण गरे । बजारभाउमा चासो दिए । र, सबैलाई ठिक लगाए अर्थात् लाइनमा ल्याए । उनी सिडिओ हुँदा पनि गृह मन्त्री र मन्त्रालय शुद्ध–विशुद्ध थिएन । तर कार्की एक्लो वृहस्पति भएर उभिए, काम गरे र सफल भए । मोरङबाट काठमाडौँको सिडिओ भएर गए । डोटेल र कार्की दुबै तत्कालीन सिडिओको क्लिननेस र पर्फर्मेन्स सम्झिएर अहिलेका सिडिओको अनुहार र कार्यशैली हेर्ने हो भने तपाईं–हाम्रो हृदयले के भन्ला ? भो, नेगेटिभिटीतिर नजाऊँ ।
अर्को प्रसंग सुरु गरौँ ।एक छिन मोरङका पूर्व एसपीहरू देवेन्द्र सुवेदी, प्रद्युम्न कार्की र विश्वराज पोखरेललाई एक पटक सम्झिऊँ । देखाउन लायक एसपी थिए ती । मतलब अनुहार राम्रो र सुन्दर थियो भन्न खोजेको होइन । जिल्लामा यस्ता एसपी छन् भनेर गौरव गर्नयोग्य थिए । त्यस्तै पूर्व क्षेत्रका पूर्व डिआइजीद्वय सुरेन्द्रबहादुर शाह र रवीन्द्रप्रताप शाह इमान र निष्ठाका प्रतिमूर्ति थिए । रवीन्द्रप्रताप हुँदेनथे भने प्रहरी भर्ना अहिले पनि सोर्स र घुसमै हुन्थ्यो, लोकसेवाले भूमिका पाउँदैनथ्यो ।
के त्यस बेलाका एसपीहरू सुवेदी, कार्की र पोखरेलहरूले अहिलेकाले जस्तै माथिदेखिकै लाइन हो भनेर तस्करीको लाइन खोल्न सक्तैनथे होला र ? उनीहरूले आफ्ना माथिल्ला निकायलाई नोटाका बिटा पठाएको भए ती माथिल्ला अधिकारीले समाउँदैनथे होला र ? भो ! पहिलेका ती एसपी र ती डिआइजी अनि अहिलेका तिनै पोस्टका अधिकारीका अनुहार र कार्यशैलीलाई एकैबाजी सम्झने काम नगरौँ । मनमस्तिष्कलाई नहुँडलेकै वेश हुन्छ । डिआइजी गिरी र एसपी शान्तिराजको लिगेसीलाई तिनका उत्तराधिकारीले कायमै राखेका छन् त के अपराध गरे भन्ने तर्क पनि आउला ।
अलिकति सशस्त्रको पनि चर्चा गरिहालौँ । सशस्त्र डिआइजी अञ्जनीकुमार पोखरेल भर्खरै सरुवा भएर गएका छन् । उनका ठाउँमा शम्भु सुवेदी छन् । तर अञ्जनीले कायम गरेको मर्यादा, इन्टिग्रिटी र मूल्यलाई शम्भुले कायमै राखिदिएको भए बजार यसरी रङ्गिन पाउने थिएन । सशस्त्र एसपी विश्व खड्कामाथि लाइन चलाएको भनेर छानबिन समिति गठन भयो । उनी हेडक्वार्टर तानिए र अन्ततः क्लिन चिट लिएर फेरि मोरङमै फर्किए । आखिर हुने यही थियो । उनलाई क्लिन चिट दिन नै यो नाटकको मञ्चन गरिएको थियो ।
ए, लाइन रोकौँ न भनेर नेपाल प्रहरीका कुनैकुनै अधिकारीले सुरक्षाको मिटिङमा आग्रह गरे भने सशस्त्रका अधिकारीहरू यसरी प्रतिवाद गर्छन् रे– खाईपाई आएको लाइन बन्द गरेर हामी के भोकै मर्नु ? तिमीहरू नेपाल प्रहरीका पो खाने हजार बाटा छन् त । हामीले केमा खानु ? आफूले खान पाएँ भन्दैमा हाम्रो खेतीपाती बन्द गर्न किन खोज्छौ ?
राष्ट्रिय अनुसन्धान त बिचरा चर्चायोग्य नै छैन । ऊसित न बन्दुक छ, न लाठी । न धेरै फोर्स छ, न त ठुलो नेटवर्क । बिचराले झरेको खाने मात्र हो ।