शरणार्थी प्रकरणको छानविन गर्ने एआइजी ज्ञवालीमाथि नै छानबिन !

विराटनगर । पूर्वमन्त्रीदेखि सचिवसमेतलाई हिरासतमा लिएर भुटानी शरणार्थी प्रकरणको छानविनको नेतृत्व गरेका नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीमाथि नै छानविन हुने भएको छ ।

नयाँ सरकार बनेलगत्तै शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान थालेका डिआईजी मनोज केसीलाई नेपाल प्रहरीको विषेश व्युरोबाट सरुवा गरिएको थियो भने अहिले एआईजी ज्ञवालीमाथि छानविन गर्न समिति गठन गरिएको हो ।

शरणार्थी प्रकरणका मास्टरमाइन्ड मानिएका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापालाई पक्राउ गरेपछि सत्ता गठबन्धन नै परिवर्तन भएको चर्चा चलिरहेको बेला सरकार बनेको एक साता नवित्दै डिआईजी केसीको गृह मन्त्रीले सरुवा गरेका थिए । अहिले गृहमन्त्रीकै निर्देशनमा एआईजी ज्ञवालीमाथि पनि छानविन गर्ने समिति नेपाल प्रहरीले बनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ज्ञवालीविरूद्ध छानविन गर्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

एआइजी ज्ञवालीविरुद्ध छानबिन निर्देशनालयमा उजुरी परेकोले छानविन समिति गठन गरिएको प्रहरीले जनाएको छ । एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको बताइएको छ । उजुरीको विषय भने खुलाइएको छैन ।

एआईजी ज्ञवाली उमेरहदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन् । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडा तथा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई शरणार्थी प्रकरणमा पक्राउ गरि हिरासतमा राख्ने कामको नेतृत्व गरेका ज्ञवालीमाथि प्रतिसोध साँधेर छानविन समिति बनाइएको आरोप लागेको छ ।

अहिलेका आईजीपी कुँबरकै ब्याची र उनीभन्दा अब्बल रहेका ज्ञवालीलाई आईजीपी बन्नबाट रोक्न उमेर विवादमा यसअघि अख्तियार र गृह मन्त्रालयमा उजुरी गरिएको थियो । तर, अख्तियारले उजुरीमा कुनै कैफियत नदेखिएको भन्दै उनलाई सफाइ दिइसकेको छ । गृहले समेत उनको शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममितिमा कैफियत भएको जनाएको थियो ।

ज्ञवालीमाथि अख्तियारमा परेको उजुरीकै कारण सरकारले उनलाई आईजीपी नियुक्त नगरी कुवरलाई नियुक्त गरेको थियो । अहिले त्यहि उजुरीलाई आधार बनाएर उनीमाथि छानविन गर्न समिति बनाइएको स्रोतले जनाएको छ ।

बुधबार, १६ साउन, २०८१, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर