शिक्षक परमेश्वरमाथि ठगी आरोप: डेढ करोडको घरजग्गा कब्जा !

विराटनगर । एक करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ती ठगी गरेको आरोपमा पक्राउ परेका विराटनगर–१० घर भएका ३८ वर्षीय पिके सर भनिने परमेश्वर कामत धरौटीमा रिहा भएका छन् ।

मोरङ अदालतले कामतलाई ७ लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न सोमबार आदेश गरेको हो ।मोरङ अदालतका न्यायाधीश रेशराज शर्माको इजलाशले कामतलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम धरौटीमा छोड्न आदेश गरेको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर उनी रिहा भएको मोरङ जिल्ला अदालतले जनाएको छ ।

साउन २ गते पक्राउ परेका कामतलाई प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले आइतबार मोरङ अदालतमा ठगी मुद्दा दर्ता गरेकोमा सोमबार भएको थुनेछक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश गरेको मोरङ अदालतका सूचना अधिकारीले जानकारी दिए ।

कामतले विराटनगर–९ सिद्धार्थ चोक बस्ने ४७ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारको नाममा रहेको १० धुर जग्गामा बनेको तीन तले घर (१ करोड ४९ लाख ४९ हजार रुपैयाँ मूल्य बराबर) ठगी गरेर कब्जा गरेको आरोप छ । मन्टुले आफ्नो नाममा रहेको साविक विराटनगर १३ भइ हाल विराटनगर १० तीनटोलीयामा रहेको कित्ता नम्बर १७५–१७६ को १० धुर जमिनमा बनेको तीन तले घर जालझेल गरी कामतले आफ्नो नाममा ल्याएको आरोप लगाएका छन् ।

चैत १० गते २०७७ मा मन्टुको नाममा रहेको १० धुरमा बनेको जग्गासहितको घर कामतले आफ्नो नाममा ल्याएको पाइएको छ । मन्टुले ढेड करोडमा घर जग्गा बिक्री गर्ने सहमति गरेका थिए । तर, परमेश्वर कामतले आफू थुनामा रहेको मौकाको फाइदा उठाउँदै मालपोत कार्यालयका कर्मचारीहरु समेतको मिलेमेतामो आफ्नो नामको जग्गासहितको घर जालझेल गरी आफ्नो नामम पास गरेको मन्टुको दावी छ । आफ्नो नाममा रहेको जग्गासहतिको तीन तले घर ठगी गरेर परमेश्वरले आफ्नो कब्जामा पारेपछि गत चैतमा मोरङ प्रहरीमा मन्टुले उजुरी दिएका थिए ।

पीडित भनिएका मन्टु पनि ठगी र आपराधिक लाभ लिएको मुद्दामा पक्राउ परी पुर्पक्षको लागि मोरङ कारागारमा बसेका थिए । सोही अबधिमा आफ्नो घरजग्गा परमेश्वरले आफ्नो नाममा पास गरेको उनले बताएका छन् ।

‘कारागारमा बस्दा पैसा आवश्यक परेपछि घर बिक्री गर्ने योजना बनाएकोमा घरमा भाडामा बस्ने संगिता कामतले आफ्नै दाजु परमेश्वरलाई ग्राहक भन्दै ल्याएकी हुन्’ मन्टुले भने, ‘म कारागारमै हुँदा १ करोड ५० लाखमा घरजग्गा खरिद गर्ने मौखिक सहमति भएपछि ५१ हजार रुपैयाँ बैना रकम लिएको थिए, बाँकी रकम चेकमार्फत बैंकमा रकम हालिदिने सहमति भएकोमा रकम पाएको छैन ।’ घरजग्गा बिक्रीको लागि २०७७ चैत ५ गते डोरको लागि सहमति दिएकोमा रकम जम्मा नभई घरजग्गा पास भएको पाइएको उनले बताए ।

अदालतबाट सफाइ पाएर थुनामुक्त भएपछि घरजग्गाको रकम भुक्तान गरेर पास गर्न मन्टुले परमेश्वरलाई भनेका थिए । ‘तर, उनले मैले घर जग्गा दर्ता गरिसकेको छु, कुनै रकम दिनुपर्ने छैन भनेपछि म छानाबाट खसेजस्तो भएँ’ मन्टु भन्छन्, ‘मालपोत कार्यालय विराटनगरमा गएर हेर्दा श्रेस्तामा २०७७ चैत १० गतेको राजीनामा लिखतबाट हक हस्तान्तरण भई परमेश्वरको नाममा श्रेस्ता पुर्जा बनिसकेको रहेछ ।’

परमेश्वरले आफू थुनामा रहेको मौकाको फाइदा उठाई रकम नबुझाइ घरजग्गा कब्जा गरेको मन्टुको दावी छ । कानुनतः घरजग्गाको मूल्य वापतको १० लाख भन्दा बढि रकम बैंकमार्फत चेकद्वारा वा रकम जम्मा गरेको भौचर संलग्न गरेपछि मात्र जग्गा नामसारी हुनुपर्नेमा मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा आफ्नो जग्गा कब्जा गरिएको उनको आरोप छ ।

आरोपी परमेश्वरले भने आफूले बहिनी संगिता कामतसँग ४० लाख रुपैयाँमा घर र जग्गा खरिद गरेको बताएका छन् । तर, ४० लाखमा घरजग्गा खरिद गरेको प्रमाणसमेत उनीसँग नभएको पाइएको छ । ‘विभिन्न माध्यमबाट ४० लाख पैसा जम्मा पारी जाहेरवाला मन्टुको श्रीमती ज्योति रौनियारलाई नगदै रकम दिएर जग्ग पास गरेको हँु’ उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘पैसा दिएको मिति भने याद भएन ।’

बुधबार, १६ साउन, २०८१, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर