कुशल लिम्बू
काठमाडौ बालुवाटार , सिंहदरबार धेरै चालियो धेरै लाई प्रधानमन्त्री र मन्त्रीहरु पनि भएको देखियो तर आफ्नो तागतबाट बालुवाटार र सिंहदरबार २०६४ सालमा मात्र थियो ।
त्यो बेला माओवादीले सरकार चलाउन जानेको थिएन । अब यो संसदीय अभ्यासमा मात्र होइन सरकार संचालन गर्ने सवालमा र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिको प्रयोग गर्ने सीप पनि माओवादी पार्टीले आर्जन गरिसकेको छ ।शान्ति प्रक्रियापछिको १७ वर्षमा माओवादीले सरकार सञ्चालनको अभ्यास मात्र होइन विपक्षी भूमिकाको अभ्यास पनि गरिसकेको छ । जतिबेला सरकार सञ्चालनको जिम्मेवारीमा पुग्यो त्यतिबेला माओवादीले केही न केही नयाँ र परिवर्तन उन्मुख कामहरु नै गर्ने प्रयत्न गर्यो । लोडसेडिङको अँध्यारोमा जनता प्रताडित भइरहेको मुलुकलाई दश वर्षमा दश हजार मेगावाट बिजुली उत्पादन गरेर देशको आर्थिक विकास गर्नुपर्छ भन्ने योजना माओवादीले नै अगाडि सारेको हो । आज त्यो योजना केही वर्ष ढिलै भएपनि पूरा हुनेतर्फ मुलुक अग्रसर छ ।
तर, हरेक पटक माओवादीलाई काम गर्न भने सहज भएन । २०६५ र २०६८ सालमा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्दा होस् अथवा त्यसपछि तेस्रो दलको रुपमा सरकारको नेतृत्व गर्दा माओवादीले सत्ता सहयात्री दलहरुबाट यथाचित सहयोग कहिल्यै पाएन । ती साझेदारहरुले केबल दाउपेचको नीति अवलम्बन गरिरहे । पार्टी अध्यक्ष प्रचण्ड हरेक क्षत ती दाउपेचकाविरुद्ध संघर्ष र प्रतिरोध गर्दै आफ्नो नेतृत्वमा मुलुकलाई अग्रगमन र अग्रगतितर्फ उन्मुख गराउन प्रयत्नशील नै देखिनुभयो । अहिले पनि सरकार सहजढंगबाट चलिरहेको बेलामा विभिन्न बखेडा झिक्दै सरकार परिवर्तनको खेल खेलिएको छ ।
प्रचण्ड कमजोरीरहित नेता अवश्य पनि होइन । अध्यक्ष प्रचण्ड तपाईंलाई सानो घेराभित्र मात्र बस्ने, जनताले भेट्न नसक्ने, राजामहाराजा जस्तै भए भन्ने टिप्पणी पनि बाहिर सुनिन्छ । यस आरोपको खण्डन गर्न तपाइँले अब माथि हिम्मत गर्नुपर्छ । माओवादी केन्द्रले अब सानो घेरामा बसेर होइन पार्टी निर्णयको लागि योजनासहित जनताको घर घरमा पुग्ने र आफूमाथि र आफूले अहिलेसम्म गरेका काम कारवाहीहरुप्रति राम्रो समीक्षा गर्नु पर्छ ।
एउटा योजना बनाएर देशका सबै जिल्ला र गाउँपालिकासम्मको जनता कार्यकर्तालाई हामीले विगत १६ वर्षको अधिकतर समय सरकार बस्दा भए गरेका काम कारबाहीको राम्ररी आत्मसमीक्षा गरेर आगामी दिनमा जनपक्षीय भूमिका कसरी निर्वाह गर्ने हो त्यसतर्फ पहल बढाउनु पर्छ ।
‘अब तपार्इँ र सबै नेताहरु भुँइमान्छे भएर आउनुस्, घेराबन्दी तोड्नुस् । आज पनि तपाईँप्रतिको विश्वास जनतामा उच्च छ । विचार र दृष्टिकोण नमिले पनि जनताले समकालीन नेताहरुमध्ये भरोसा गर्ने नेता तपाईं नै हो । त्यो विश्वासलाई तपाईँले गुम्न दिनु हुदैन । तर, बालुवाटार र सिंहदरवारमा मात्र रमाउनुभयो भने माओवादी वा हाम्रो अवस्था दिन प्रतिदिन खुम्चिएर जाने खतरा छ । इतिहासमा यो पार्टी पनि थियो रे भन्ने दिन पनि आउन सक्छ ।’
अहिले धेरै केही बिग्रिएको छैन । अझै पनि सचेत भएर पहल लिन सकिन्छ । लाखौं कार्यकर्ता र परिवर्तनको विचारप्रति विश्वास राखेका समर्थकहरु अहिले पनि पार्टीको साथमा छन् । इमान्दार ढंगले परिवर्तनका विविध एजेन्डा बोकेर आएको पार्टी हो माओवादी । त्यसैले हामीले लिने सार्थक पहलले आम कार्याकर्ता र जनताबाट पार्टीलाई साथ नहुने कुरै छैन । पार्टी एजेण्डाहरु किन छोड्यो, किन यस्तो गर्नु परेको हो भन्ने प्रश्न यतिबेला जनस्तरमा छन् । ती प्रश्नहरुको सहि जवाफ हामीले दिनुपर्छ । अहिले पनि मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अग्रगमनतर्फको नेतृत्व गर्ने विकल्प माओवादी नै हो । सरकारमा बसेर सुशासन भ्रष्टाचारी र भ्रष्टाचारविरुद्धको अभियान चलाउने यही पार्टी हो । पछिल्लो सरकार सञ्चालनको १८ महिनामा प्रचण्ड नेतृत्वको सरकारले दिएको महत्वपूर्ण सन्देश त्यही हो । यो अभियानबाटै नेपाल नयाँ तरिकाबाट खुसी, समद्ध र विकासतर्फ बढ्न सक्छ भन्ने बहस जनताका बिचमा भइरहेको छ । तर यो अभियान सरकारले बिचमा अलि छोडेको जस्तो देखियो । के अफ्ठ्यारो आइपरेको थियो त्यो जनतामा खुलस्त बताउनु पर्छ ।
जनतालाई अपिल गरेर सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको अभियान माओवादी पार्टीले सञ्चालन गर्न सक्छ । माओवादीको नेतृत्वमा बन्ने बहुमतको सरकारले मात्र यो अभियानलाई सहि ढंगबाट अगाडि लैजान सक्छ भन्ने सन्देश लिएर जनताका बिचमा, घरघरमा पुग्नु पर्छ । त्यसो गर्न सकियो भने पार्टी निर्माणको कामले गति लिनेछ । संसदको यो कार्यकालको बाँकी साढें ३ वर्ष प्रतिपक्षमा बसेर जनताका मुद्दाहरु बोल्नु पर्छ । जनताको पक्षमा संघर्षलाई अगाडि बढाउनु पर्छ । मुलुकमा राम्रो र प्रभावकारी प्रतिपक्षको भूमिका खेल्ने मुख्य कार्यभार हामीसामु आएको छ ।
त्यसका लागि माओवादी केन्द्रले आगामी १० वर्ष पार्टी निर्माण, रुपान्तरण एकता र समृद्ध नेपालका निम्ति सुशासनयुक्त अभियान चलाउनु पर्छ । नमूना गाउँपालिका, नगर, महानगर निर्माणका लागि सबै ठाउँमा माओवादी सत्ता स्थापना गर्ने एजेण्ड बनाएर पार्टीले अभियान सञ्चालन गर्नुपर्छ ।