भन्सार विन्दुबाट सुरु हुन्छ भ्याट छल्ने काम

भन्सार विन्दुबाट सुरु हुन्छ भ्याट छल्ने काम

नक्कली भ्याट बिल भनेको त्यस्तो कारोबार हो जसमा वास्तविक रूपमा वस्तु वा सेवाको खरिद–बिक्री हुँदैन, तर कारोबार भएको देखाउन काल्पनिक बिजक जारी गरिन्छ । उदाहरणका लागि, ‘क’ भन्ने व्यक्तिले ‘ख’ भन्ने व्यक्तिसँग कुनै सामान किनेको देखाउँछ, तर वास्तवमा त्यहाँ कुनै सामानको लेनदेन भएको हुँदैन । खरिद नै नगरेको र आफ्नो गोदाममा मौज्दात नै नभएको सामानको बिल अर्को व्यक्तिलाई दिइन्छ भने त्यो नक्कली बिल हो ।

नक्कली भ्याट बिलको कारोबार फस्टाउनुमा मुख्यतः दुईवटा कारणहरू देखिन्छन् । एउटा कारण भनेको भन्सारमा न्यून बिजकीकरण हुनु हो । धेरैजसो समस्या भन्सारबाटै सुरु हुन्छ । आयातकर्ताले विदेशबाट सामान ल्याउँदा भन्सार छल्ने उद्देश्यले त्यसको मूल्य कम देखाएर न्यून बिजकीकरण गर्छन् । उदाहरणका लागि, १ लाख पर्ने सामानको मूल्य भन्सारमा २० हजार मात्र देखाइन्छ । कानुनअनुसार बिक्रेताले २० प्रतिशत मार्जिन जोडेर बढीमा २४ हजारको बिल मात्र काट्न सक्छ । तर बजारमा सोही सामान १ लाखमा बिक्री हुन्छ । खरिदकर्ताले १ लाख तिरेपछि सोही बराबरको बिल माग्छ । यो अवस्थामा बिक्रेताले सोही सामानको बिल दिन सक्दैन र नक्कली बिलको सहारा लिन्छ । उसले कि त बिलमा सामानको परिमाण बढाउँछ, कि त अन्य कुनै सामान थपेर बिल मिलाउँछ । यसरी भन्सारमा हुने छलीले नक्कली बिलको माग बढाउँछ । त्यसकारण यो संगठित अपराधको जरा खोज्दै जाँदा यसको मूल स्रोतमध्ये एक भन्सार नाकामा हुने न्यून बिजकीकरणमा गएर ठोकिन्छ ।

नक्कली भ्याट बिलको कारोबार फस्टाउने अर्को उर्वर भूमि निर्माण क्षेत्र पनि हो । ठूला निर्माण परियोजनाहरूमा करोडौंको सामग्री (रड, सिमेन्ट, गिट्टी, बालुवा) खरिद हुन्छ । तर, निर्माण सामग्रीको आपूर्ति शृङ्खलाको ठूलो हिस्सा अझै पनि अनौपचारिक क्षेत्रमा छ, जहाँ अधिकांश आपूर्तिकर्ताहरूले भ्याट बिल जारी गर्दैनन् । निर्माण व्यवसायीले वास्तविक रूपमा भुक्तानी गरे पनि त्यसको कानुनी प्रमाणको रूपमा बिल पाउँदैन । बिल नहुँदा उसको लागत खर्च प्रमाणित हुँदैन, जसले गर्दा उसको नाफा कागजी रूपमा अत्यधिक देखिन्छ र उसले नचाहँदा–नचाहँदै ठूलो आयकरको भार बोक्नुपर्ने हुन्छ । यो मारबाट बच्न, उसले आफ्नो वास्तविक खर्चलाई प्रमाणित गर्न नक्कली भ्याट बिल खरिद गर्ने बाटो रोज्न बाध्य हुन्छ । यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने, कतिपय अवस्थामा व्यवसायीले कर छल्नभन्दा पनि आफ्नो वास्तविक लागतलाई प्रणालीमा देखाउन र अनुचित कर भारबाट बच्न नक्कली बिलको सहारा लिइरहेको हुन्छ । यो हाम्रो प्रणालीको कमजोरी हो, जसले इमानदार हुन खोज्नेलाई समेत बेइमानीको बाटोमा धकेल्छ ।

नक्कली बिल हेर्दा सक्कली जस्तै देखिने भएकाले सामान्य अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । यसलाई पत्ता लगाउने हालको सबैभन्दा प्रभावकारी संयन्त्र भनेको कर कार्यालयमा बुझाइने अनुसूची–१३ हो । यस व्यवस्थाअनुसार, व्यवसायीले आफ्नो कुल खरिद र बिक्रीको विवरणसँगै प्रमुख आपूर्तिकर्ता र ग्राहकको सूची पनि बुझाउनुपर्छ । जब अनुसन्धानको क्रममा खरिदकर्ताले ‘क’ फर्मबाट किनेको भनेर देखाएको कारोबार ‘ख’ फर्मको बिक्री विवरणमा देखिँदैन, तब ‘मिसम्याच’ उत्पन्न हुन्छ । यही मिसम्याचको आधारमा कर कार्यालयले अनुसन्धान अगाडि बढाउँछ । हालको विराटनगर प्रकरण पनि यही प्रक्रियाबाट बाहिर आएको मानिन्छ । तर यो प्रणालीको पनि आफ्नै सीमा छ । यसले पनि अपराध भइसकेपछि मात्र त्यसको सङ्केत दिन्छ, अपराध रोक्न सक्दैन । जबसम्म मिसम्याच पत्ता लाग्छ, तबसम्ममा वर्षौं बितिसकेको हुन सक्छ र राज्यले अर्बौंको राजस्व गुमाइसकेको हुन्छ ।

वार्षिक १० करोडभन्दा बढीको कारोबार गर्ने फर्महरूका लागि कम्प्युटर बिलिङ अनिवार्य गरिएको छ । कम्प्युटर प्रणालीबाट नक्कली बिल बनाउन लगभग असम्भव हुन्छ, जबसम्म प्रणाली नै कमजोर वा ह्याक हुँदैन । भन्सार, राजस्व कार्यालय र व्यवसायीको बिलिङ प्रणालीलाई अनलाइनमार्फत एक–आपसमा जोड्नुपर्छ । यसले कर कार्यालयलाई वास्तविक समयमा अनुगमन गर्न सहज बनाउँछ र ठगी रोक्न मद्दत गर्छ ।

पहिलो र सबैभन्दा महत्वपूर्ण सुधार प्रविधिमा आधारित हुनुपर्छ । भारतको जीएसटी जस्तै, नेपालमा पनि एउटा केन्द्रीय सर्भरमा आधारित ‘रियल–टाइम बिलिङ’ प्रणाली लागू गर्नुपर्छ । यस प्रणालीअनुसार, हरेक भ्याट बिल जारी हुनेबित्तिकै त्यो केन्द्रीय सर्भरमा दर्ता हुनुपर्छ र बिक्रेताले बिल अपलोड गरेपछि मात्र खरिदकर्ताले भ्याट क्रेडिट दाबी गर्न पाउने व्यवस्था हुनुपर्छ । यसो गर्दा नक्कली बिल बनाउने सम्भावना लगभग शून्य हुन्छ । साथै, हाल १० करोडभन्दा माथिको कारोबारमा मात्र अनिवार्य गरिएको कम्प्युटर बिलिङको दायरालाई फराकिलो बनाउनु जरुरी छ ।

दोस्रो, नीतिगत र संरचनागत सुधार आवश्यक छ । समस्याको जड मानिएको भन्सार प्रणालीमा कडाइ गर्नुपर्छ । न्यून बिजकीकरण रोक्नका लागि अन्तर्राष्ट्रिय बजार मूल्यसँग तुलना गर्ने, कृत्रिम बौद्धिकता (एआइ) प्रयोग गरी शङ्कास्पद घोषणालाई पहिचान गर्ने र दोषीलाई कडा कारबाही गर्ने परिपाटी विकास गर्नुपर्छ । निर्माण जस्ता क्षेत्रका लागि, जहाँ भुक्तानीको चक्र लामो हुन्छ, ‘भुक्तानीमा आधारित भ्याट प्रणाली’ लागू गर्नेबारे गम्भीर विमर्श आवश्यक छ, ताकि नगद प्रवाहको समस्याले व्यवसायीलाई गलत बाटोमा जान बाध्य नपारोस् ।

तेस्रो, नियामक निकायको अनुगमन क्षमतालाई सुदृढ गर्नुपर्छ । तथ्याङ्क विश्लेषणको माध्यमबाट शङ्कास्पद कारोबार ढाँचाहरू (जस्तै, लामो समयसम्म शून्य कारोबार देखाएको फर्मले एक्कासी ठूलो कारोबार देखाउनु)लाई स्वतः पहिचान गर्ने र तत्काल अनुसन्धान गर्ने संयन्त्र विकास गर्नुपर्छ । अपराध भइसकेपछि वर्षौंपछि अनुसन्धान गर्नुभन्दा अपराध हुनै नदिने वातावरण सिर्जना गर्नु बढी प्रभावकारी हुन्छ ।

अन्त्यमा, नक्कली भ्याट बिलको समस्या केही बेइमान व्यवसायीको मात्र उपज होइन, यो हाम्रो प्रणालीगत कमजोरी, कमजोर अनुगमन र प्रविधिको अपर्याप्त प्रयोगको प्रतिफल हो । यसलाई नियन्त्रण गर्न कहिलेकाहीँ गरिने छापा र अनुसन्धानले मात्र पुग्दैन । यसका लागि प्रविधि, नीति र कार्यान्वयनको तहमा एकैपटक गरिने एउटा साहसिक र दूरगामी सुधारको खाँचो छ ।

अध्यक्ष, नेपाल अडिटर एसोसिएसन (अडान) कोशी