लायन्सको सेवाले नयाँ उचाइ चुमोस्

 सूर्यनारायण चौधरी

चिफ लायन्स क्वेस्ट, लायन्स अन्तर्राष्ट्रिय क्लब ३२५ सी

न कोही मान्छे छिटो मर्न चाहन्छ, न बिरामी भएर धेरै दिन बाँच्न नै चाहन्छ। तर नचाहेर पनि अनेकौँ बिरामी तथा समस्याहरू आइपर्छन्। जीवनमा आइपर्ने यस्ता समस्याहरू सानो होस् वा ठूलो, समाधान जादु जस्तै छिट्टो होस् भन्ने चाहना सबैको हुन्छ। यी समस्याहरूका समयमा साथ दिने, सहयोग गर्ने कामलाई समाजमा उच्च सम्मान रहँदै आएको छ। पीडामा रहेका व्यक्तिहरूलाई मलमपट्टी मात्र गरिदिए, दुःख परेको बेलामा कुरा सुनिदिए मात्र पनि धेरै आशा र विश्वास पलाउने हुन्छ। निस्वार्थ भावले सहयोग गर्ने र आवश्यकताको समयमा लौरो बनेर उभिने भएर होला, भोको, नाङ्गो, अशक्त, गरिब, दुःखी अनि विपदमा परेका व्यक्तिहरूको लागि लायन्स भगवान् झैँ साबित हुँदै आएको छ।

प्रथम विश्वयुद्धपछि असह्य पीडामा अनि भोकले छटपटिँदै मृत्युको पर्खाइमा रहेका ती घाइतेहरूको चित्कारले मेल्भिन जोनको मन पग्लिएको हुनुपर्छ। ती घाइतेहरूको सेवा गर्नुपर्छ अनि ती भोका पेटहरूसम्म खाना पुर्‍याउनु पर्छ भन्ने चाहना मेल्भिन जोनले लिएको हुनुपर्छ। सायद यिनै कारणले सन् १९१७ जुन ७ मा फादर अफ लायन्स मेल्भिन जोनले संसारको पहिलो लायन्स क्लबको स्थापना गरेको हुनुपर्छ। आफूभन्दा कमजोर अनि दुःख–पीडामा रहेका व्यक्तिहरूलाई स्वेच्छाले सहयोग गर्ने तथा सहयोगको वातावरण सिर्जना गर्दै मानव सेवालाई आधार बनाएर सेवा गर्ने संस्था हो ‘लायन्स क्लब’।

यो राजनीतिक, धार्मिक, जातीय वा वर्गीय भेदभावरहित सामाजिक सेवा गर्ने संसारको सबैभन्दा ठूलो र व्यवस्थित संस्थाका रूपमा स्थापित छ। ‘वि सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने नारा दिएको यो अन्तर्राष्ट्रिय सामाजिक संस्था दुई सयभन्दा बढी देशहरूमा फैलिएर रहेको छ। अन्तर्राष्ट्रिय लायन्स क्लब मानवीय धर्म, आस्था र मर्मलाई आत्मसात् गर्दै निःस्वार्थ भावले समाजमा सेवा गर्ने संस्था हो। केन्द्रीय कार्यालय अमेरिकामा रहेको र अमेरिकाका विभिन्न राज्यहरूमा रहेको लायन्स क्लबको अमेरिकाबाहिर पहिलो पटक क्यानडामा गठन भयो। सन् १९२० मा क्यानडामा लायन्स क्लब स्थापना भएसँगै यसले अन्तर्राष्ट्रिय क्लबको रूपमा पहिचान बनायो।

नेपालमा सन् १९७१ मा ‘लायन्स क्लब अफ बिराटनगर’को स्थापना भएको इतिहास छ। स्व. मात्रिकाप्रसाद कोइरालाको अगुवाईमा नेपालको विराटनगरमा स्थापना भएको सो क्लब नै नेपालको पहिलो लायन्स क्लब हो। तत्कालीन अवस्थामा सो क्लब भारतको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२२ अन्तर्गत रहेको थियो। र पछि नेपालमा नै क्लबहरू गठन हुँदै गएपछि नेपालमा छुट्टै डिस्ट्रिक्ट ३२५ बनाइयो। आजको दिनमा नेपालमा मात्र लायन्स अन्तर्राष्ट्रियका १५ वटा डिस्ट्रिक्टहरू छन्। ‘मोर ह्याण्ड्स मोर सर्भिस’ अर्थात् जति सेवा गर्ने हातहरू जोडिँदै जान्छन्, उत्ति नै समाजमा बढी सेवा हुन्छ भन्ने मान्यता लायन्सले राखेका छन्। त्यसैले होला लायन्स क्लबसँग आबद्ध हुने, नयाँ क्लब गठन गर्ने क्रम भइरहन्छ।

राजनीतिक, धार्मिक, जातीय वा वर्गीय भेदभावरहित सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित यस्ता क्लबहरू बन्द नहुनुपर्ने हो। तर त्यसो हुन सकेको छैन। लायन्स सदस्यहरूको संख्या पनि घट्ने–बढ्ने भइरहन्छ। कतै–कतै त गठन भएको १ वर्ष पनि पूरा नगरी क्लब विघटन भएका, सदस्यहरू निष्क्रिय भएका पनि छन्। हुन त नयाँ पात पलाउने अनि पुराना झर्ने त संसारको नियम नै हो। पुरानो रहिरहने तर नयाँ झर्ने किन? धेरैको प्रश्न हुने गर्छ। संसारभरि रहेका १५ लाख सदस्यहरूको हिसाब–किताब राख्न सफल र व्यवस्थित लायन्स क्लबमा स्वार्थ बढेको हो वा सेवाको भावना घटेको हो? सूक्ष्म अध्ययन गर्न जरुरी छ।

अधिकांश पुराना लायन्स साथीहरू ‘पहिले जस्तो लायन्स रहेन’ भन्दै निष्क्रिय बनिरहेका देखिन्छन्। हुन त अहिले कार्यक्रमसम्बन्धी सूचना तथा खबर पुर्‍याउन घर खोज्दै जानु परेको छैन। इमेल, फोन, सन्देश, सामाजिक सञ्जाल सबै मोबाइलमा छ। र मोबाइल नचलाउने लायन्स छैन। तर पनि खबर समयमा पुग्दैन। खबर नदिन खोजिएको हो कि नपुगेको? बुझ्न गाह्रो नहोला। तर खबर कुन उद्देश्यले गरिएको हो, त्यो बुझ्न चाहिँ पक्कै सजिलो हुँदैन। हरेकले आफ्नो उपस्थितिको मूल्य, मान्यता, सम्मान चाहन्छन्, कतै हामीले त्यो पक्ष बिर्सेका पो छौँ कि? सोच्ने बेला आएको छ। समय परिवर्तनशील छ, समयसँगै हामी पनि सच्चिँदै जानुपर्छ।

केही लोभ लालच र स्वार्थमा खोलिएका क्लबहरू बन्द हुन सक्छन्। त्यसैले क्लब खोल्न होडबाजी भन्दा पनि लायन्सको उद्देश्य, लक्ष्य र सिद्धान्तहरूबारे छलफल गराइ क्लब खोलिनु पर्छ। सम्बन्ध गहिरो बनाउनु पर्छ, आत्मीय हुनुपर्छ, र दोहोरो हुनुपर्छ अनि मात्र सहयोगको भावनाको विकास हुन्छ भन्दा फरक नपर्ला।

लायन्सकर्मीहरूलाई सक्रिय र उत्साहजनक सहभागिताको लागि आयोजकले अग्रिम नाम दर्ताको अपेक्षा गर्छन्। तसर्थ समयमै नाम सुनिश्चित गर्ने बानी बसाउनु पर्छ। पछिल्लो समयमा देखिएको फेलोसिपलाई अझ रमणीय र व्यवस्थित बनाउँदै जानुपर्छ। यसका लागि सहभागी, आयोजक र सेवा प्रदायक पक्ष नैतिक रूपमा जिम्मेवारी लिई दीर्घकालीन योजना हुनु जरुरी छ। सेवासँगै फेलोसिपमा लायन्स साथीहरू रमाइलो मान्ने हुन्छन् भन्दा फरक नपर्ला। सभ्य समाजका सभ्य नागरिक अझ समाजसेवीहरू रम्ने–रमाउने क्षणमा जवाफदेहिता र जिम्मेवारी सबैले लिनै पर्छ। यी पक्षहरूलाई अहिलेका गभर्नर विकास अधिकारीले राम्रोसँग बुझेका छन्। त्यसैले विगतका कमजोरीहरू सच्चिने विश्वास धेरै लायन्सले लिएका छन्।

लायन्सलाई नयाँ उचाइमा पुर्‍याउन हरेक लायन्सकर्मीले जिम्मेवारी लिनसक्नु पर्छ। स्थायी योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्छ। यात्रु प्रतीक्षालय, सार्वजनिक स्थानहरूमा पिउने पानीको व्यवस्था, हरित पार्क, चिल्ड्रेन पार्क बनाउनमा सबैको सक्रियता होस्। संसारभरि फैलिएको लायन्सका लागि आफ्नै विश्वविद्यालय तथा स्कुल बनोस्। अनि स्वास्थ्य सेवाका लागि डायलासिस सेवा जस्तै अस्पताल तथा जनस्वास्थ्य परामर्श केन्द्रहरू खोलियोस्। इन्टरनेसनल प्रेसिडेन्टको र गभर्नरको नारालाई आत्मसात् गर्दै विश्वव्यापी देखिएका समस्याहरूको न्यूनीकरणका कार्यक्रमहरू गरी मानव सेवा गर्नु क्लब प्रेसिडेन्टको प्रमुख उदेश्य हुनुपर्छ । लायन्स पदाधिकारीहरुलाई सेवासँगै व्यक्तिगत क्षमताको अभिवृद्धि गराउनसके नयाँ पुस्तालाई लायन्स प्रतिआकर्षण पक्कै बढ्दै जानेछ ।

लायन्सले मनसँग मन जोड्ने कार्य गर्नुपर्छ । आत्मसन्तुष्टिको लागि समाजिक सेवामा समर्पित लायन्सहरुलाई, उनको योगदान र क्षमातालाई मुल्याङ्कन गरेर जिम्मेवारी दिई साथीहरुलाई सक्रिय हुने वातावरणको सिर्जना हुनु राम्रो पक्ष हो । क्षमतावान, दुरदर्शी, बौद्धिक व्यक्ति लायन्सको विभिन्न तालिम प्राप्त व्यक्तिलाई यस क्षेत्रको गभर्नरका रुपमा पाउनु हाम्रो सौभाग्य हो । लायन वर्ष २०२४/२५ डिस्ट्रिक सी का गभर्नर विकास अधिकारीले जुलाई १ बाट ‘१०० डेज सर्भिस’ अर्थात ‘सेवामा सय दिन’ नाराका साथ नेतृत्व लिई सकेका छन् । उनको नेतृत्वले हुने लायन्सको सेवात्मक कार्यक्रमले नयाँ उचाइ चुम्न सकोस् हार्दिक शुभकामना ।

बुधबार, २० असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर