विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि पाँच महिनादेखि बलात्कार हुँदै आएको खुलेको छ ।
पथरीशनिश्चरे ८ का ४८ वर्षीय लिम्बूले धाकधम्की दिएर लगातार बलात्कार गर्दै आएकी किशोरी गर्भवती भएपछि मात्र घटना बाहिरिएको हो ।
स्थानीय १७ वर्षीया दलित समुदायकी किशोरीको कोसी अस्पताल विराटनगरमा गरिएको स्वास्थ्य परीक्षणमा ५ महिनाको गर्भ रहेको खुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । लिम्बूले धाकधम्की दिएर पटक–पटक बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार लामो समयदेखि महिनावारी नभएको तथा किशोरीले खाना खानसमेत मन नगरेपछि अभिभावकले सोधपुछ गर्दा बलात्कारको घटना खुलेको हो । किशोरीका अभिभावकले जाहेरी दिएपछि बलात्कारमा संलग्न लिम्बूलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।
लिम्बूविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने डिएसपी गिरीले जनाकारी दिनुभयो । बलात्कार पीडित किशोरीलाई संरक्षणका लागि ओरेक नेपालको जिम्मा लगाइएको छ ।