विराटनगर । कोशी प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुको उच्च क्षेत्रमा मंगलबारदेखि हिमपात भएको हो ।
मङ्गलबार साँझ वर्षा भएसँगै संखुवासभाको गुफापोखरी, तीनजुरे र किमाथांका लगायतका क्षेत्रमा हिउँ परेको छ । तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफापोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिएका छन् ।
संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले उच्च हिमाली क्षेत्रमा मंगलबार रातिदेखि हिउँ परेको जानकारी दिए । किमाथांका क्षेत्रमा १ फिटसम्म हिउँ परेको र गुफापोखरी लगायतको क्षेत्रमा पनि हिउँ परेको उनको भनाइ छ ।
ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार जिल्लाको पर्यटकीय मन्दिर पाथिभरा क्षेत्रसहित उच्च भागमा हिउँ परेको छ । चिसो बढेको र कुहिरो लागेकोले अझै हिउँ पर्ने संभावना रहेको उनले जानकारी दिए ।
इलामका उच्च पहाडी पर्यटकीयस्थलहरुमा पनि हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको हो । उत्तरी पर्यटकीय क्षेत्रमा मंगलबार दिउँसोदेखि नै बाक्लो हिमपात भएको जौबारीको होमस्टे व्यवसायी लक्की शेर्पाले जानकारी दिएकी छन् । वर्षातपछि हिमपात हुँदै आएपछि यस एक्कासी हिमपात भएको हो ।
पर्यटकीय गन्तव्य सन्दकपुर र तीन सिमाना फालुटसम्म हिमपात भएको पर्यटन व्यवसायी प्रमोद नेपालले बताएका छन् । हिमपात भएपछि हिउँ खेल्न स्थानीयहरु आउन थालेका छन् । पर्यटकीय क्षेत्र चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ्ग, टङ्लु, जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, चौरीचौक, सन्दकपुर र फालुट क्षेत्र पर्यटकीय गन्तव्य हुन् ।
हिउँ परेसँगै हेर्न आउने पर्यटकले होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । मौसम खुलेको समयमा सो क्षेत्रबाट कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ ।
हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक सो क्षेत्रमा पुग्ने गर्दछन् । गत वर्ष हिउँ नपर्दा सो क्षेत्रमा कम गुराँस फुलेको छ ।