विर्तामोड । पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गर्दै पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन सञ्चालनमा अबरोध गरेको छ ।
नेकपा (एमाले)का सचिव एवं सङ्घीय सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले चक्काजाम गरेका हुन् ।
झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि पहिचानवादीले अवरोध गरेका छन् । इलामतर्फ जान लागेका सवारीसाधनलाई केही व्यक्तिले अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
अवरोधबीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाइरहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीका अनुसार लोकल गाडीहरूलाई चल्न दिएको भएपनि इलाम र ताप्लेजुङतर्फ जाने सवारी साधनका चालकलाई नजान सम्झाइबुझाइ गरिरहेको बताए ।
पहिचानवादीहरूले यातायात अवरुद्ध गर्दा मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् ।
उनीहरूलाई बिनासर्त रिहाइको माग राखेर पहिचानवादीहरू चक्काजाममा उत्रिएका हुन् ।