विराटनगर । मोरङको दक्षिण क्षेत्रमा सार्वजानिकस्थल सडक किनारमा रहेको सरकारी जमिनको रूखलाई निजी वनको काठभन्दै चोरी–तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । सडक किनारमा रहेको रुख काटेर निजी वनको काठ भन्दै बेच्ने काम विगत केही समययता भइरहेको अनुसन्धानका क्रममा खुलेको छ ।
सरकारी जमिनमा हुर्केको रुख कटान गरी बिक्री गर्न लैजाने क्रममा डिभिजन वन कार्यालय मोरङले आइतबार दुई जनालाई पक्राउ गरेको छ । चोरी–तस्करी गरेर लैजादै गरेको ६० क्युविक फिट काठ बरामद गरेको सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए । कदम, निम, जिलेबी आदि प्रजातिको काठ अवैध निकासी गर्ने क्रममा बरामद गरेको उनले बताए ।
‘सार्वजानिकस्थान, सडक किनार आदि ठाउँमा रहेको रुखहरु पनि कटान गरी चोरी तस्करी गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘हामीलाई विशेष सूचना आएको थियो । निजी जग्गाबाट केही रुखहरु कटान गर्ने र त्यसमा सडक किनारको रुख पनि काटेर मिसाई बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हामीले काठ बरामद गर्न सफल भएका हौं ।’
डिभिजन वन कार्यालयले को २ त ५३०७ नम्बरको ट्याक्टरमा लोड भएको काठसहित चालक र सवारी धनी धनपालथान गाउँपालिका २ घर भई जहदा गाउँपालिका ४ रामचोक बस्ने वर्ष ३७ का कैलाश मण्डल र काठ चोरी तस्करी गरेको आरोपमा जहदा गाउँपालिका ५ राजभर टोलका ५१ वर्षका गणेश नुनिया पक्राउ परेको सहायक वन अधिकृत पराजुलीले बताए । ‘नुनियाले केही निजी जमिनमा भएको रुख पनि कटान गरेका छन् । त्यसमा धेरै सार्वजानिक स्थल सडक किनारमा भएको रुख कटान गरी निजी देखाएर बिक्री गर्न लैजाने क्रममा हामीले बरामद गरेका हौं,’ उनले भने ।
यसअघि पनि यस क्षेत्रबाट सडक किनारमा रहेको ७ वटा रुख कटान भएको देखिएको छ । यसअघि कटना भएको रुखको विषयमा पनि अनुसन्धान सुरु गरिएको उनले बताए । यसअघि कटान भई चोरी तस्करी भएको ७ वटा रुख पनि नुनियाको समूहले गरेको हुनसक्ने आशंका गरिएको छ । यस विषयमा सुक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको उनले बताए । ‘यसअघि वन जंगलबाट मात्र चोरी तस्करी हुने गरेको थियो,’ उनले भने, ‘अहिले मोरङको दक्षिण क्षेत्रमा सार्वजानिकस्थल सडक किनारमा रहेको रुखहरु अवैध रुपमा कटना गर्ने र बिक्री गर्ने गरेको पाइएको छ ।’ यसरी सार्वजानिक स्थलमा रहेको रुख कटान गरी बिक्री गर्ने सवारीधनी र विक्री गर्ने नुनियालाई डिभिजन वन कार्यालयले मोरङ अदालतमा सोमबार वन ऐन २०७६ अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको पराजुलीले बताए ।
बरामद काठ कहाँ लगिदै थियो भन्ने कुरा खुलिनसकेको र अनुसन्धानका क्रममा खुल्ने उनले बताए । ‘त्यस विषयमा पनि हामी अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि त्यो पनि खुल्नेछ ।’यसअघि पनि जहदा गाउँपालिका ४ सार्वजनिक माविअगाडि सार्वजानिक स्थलमा भएको रुख काटेर बिक्री गर्ने पाँच जनालाई डिभिजन वन कार्यालय पक्राउ गरेको थियो ।
जहदा ४ का रामेश्वर मण्डल गनगाइ, दुखेश्वर गनगाइ, दोहन ऋषिदेव, कान्छा मसुर भनिने विश्शेवर ऋषिदव र धनपालथान ६ का सुरेश यादव पक्राउ परेका थिए । पक्राउ परेका मध्ये सवारी धनी र चालक सुरेश यादव रहेका थिए । उनीहरुले सार्वजानिक स्थल सडक किनारमा रहेको रुख निजी भन्दै बिक्री वितरण गरेको पाइएपछि पक्राउ परेका थिए । पछि डिभिजन वन कार्यालयले अनुसन्धान पूरा गरेपछि अदालतमा मुद्दा दायर गरेको थियो । मोरङ अदालतले उनीहरुलाई गत भदौमा जनही ११ हजार रुपैयाँ धरौटी लिएर छोडेको थियो ।
त्यसबेलामा उनीहरुले बिक्री गर्न लैजान लागेको क्युविक फिट काठ बरामद भएको थियो ।
पछिल्लो समय वन रक्षकहरूको अभावका कारण केराबारी, सुन्दरहरैंचा, बेलबारी र कानेपोखरी क्षेत्रको बनबाट काठ तस्करी बढ्दै गएको छ । तस्करहरूले काठे मिल र फर्निचर उद्योगसँग मिलेमतो गरेर काठ तस्करी र बिक्री गर्ने गरेको पाइएको छ ।