पूर्वराजाको नाममा ‘श्री ५ बडामहाराजधिराज’ लेखिएको शिलालेख कलेजले हटायो

बिर्तामोड । झापाको विर्तामोडस्थित इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको छ ।

पूर्वराजा साहले गत शनिबार बिर्तामोड –१ स्थित इकम कलेजको प्रांगणमा अनावरण गरेको सालिकको शिलालेखमा लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको हो ।

कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गराएकोप्रति राजनीतिक दलहरुले आपत्ती जनाउँदै कलेजमाथि कार्वाहीको माग गरेका थिए । देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ लेखिएको शिलालेख प्रशासनको चेतावनीपछि कलेजले हटाएको हो ।

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाउने चेतावनी बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले दिएका थिए । कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने उनले बताए ।

गैरकानूनी रुपमा शिलालेख लेखेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि स्पष्टिकरण सोधेपछि इकम कलेजले ‘श्री ५ बडामहाराजधिराज’ लेखिएको शिलालेख हटाएको हो ।कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन् । सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताएका छन् । अब शिलालेखमा पूर्वराजा भनेर लेखिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले श्री ५ बडामहाराजधिराज लेखेको बारेमा स्पष्टीकरण सोधेपछि कलेज प्रशासनले शिलालेख हटाएको हो । इकम कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ ।

कलेजले स्थापना गरेको शालिक अनावरण गर्न पूर्वराजालाई निम्त्याएपछि राप्रपाले उनको पक्षमा प्रदर्शन गरेको थियो ।

सोमबार, ११ मंसिर, २०८०, दिउँसोको ०२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर