विर्तामोड । झापाको बाह्रदशीका कोरोना संक्रमित व्यक्ति भारतको दिल्लीमा रहेको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भएर आएको खुलेको छ ।
झापाको दमकमा यसअघि एक जनामा कोरोना देखिएकोमा बाह्रदशी गाउँपालिकाका ५० वर्षीय जमातीमा आइतबार कोरोना पुष्टि भएको थियो ।
बाह्दशी ४ चकचकी बस्ने ती व्यक्ति दिल्लीबाट घर फर्किएको पाइएपछि आरडिटीबाट परीक्षण गरिएको थियो । तर, दुई पटक नेगेटिभ नतिजा आएकोमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो। दश दिनको अन्तरमा आरडिटी गर्दा नेगेटिभ देखिएपनि उनीसहित बाह्रदशीका तीन जनाको स्वाब पिसिआर परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगरको प्रयोगशाला पठाइएको थियो ।
कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्समा हालेर कोरोना अस्पताल विराटनगर पठाएको छ ।
फागुन २० गते भएको सभामा सहभागी भई उनी फागुन २८ गते झापा घर फर्किएका थिए। उनी होम क्वारेन्टाइनमा नबसेको स्थानीयले बताएका छन् ।
बाह्रदशीका व्यक्तिमा कोरोना पुष्टि भएपछि त्यहाँ उच्च सतर्कता बढाइएको झापा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो। त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाएर उनको सम्पर्कमा रहेकाहरुको परीक्षण गरिने उहाँको भनाइ छ ।
उता दमकका ६२ वर्षीय बृद्धमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका ७४ जनाको स्वाब संकलन गरिएको छ । दमकमा आइतबारदेखि नमुना परीक्षणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको हो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिलो घेरामा राखि नमुना संकलन गरिएको हो।
दमक ३ का विदेशबाट आएका एक व्यक्तिका आफन्तलाई कोरोना संक्रमण पुष्टि भएपछि दमक अस्पतालका प्रमुख डा.खड्कराज लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।