विराटनगर । यसअघि तीन जना भारतीयमा कोरोना संक्रमण देखिएको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५० वर्षीय दुई जना व्यक्तिमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सेतोपाटीलाई जानकारी दिनुभयो ।
संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।
ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। आज थपिएका दुबै संक्रमित पुरुष हुन्। उनीहरू एकजना मस्जिदका मलोना हुन् भने एकजना महानगरका सफाई कर्मचारी हुन् ।
उनीहरुमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएका छन् ।