वीरगन्ज । वीरगन्जमा र्यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) मा एण्टीबडि पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो। उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि उनमा अहिले कोरोना थियो वा थिएन यकिन हुनेछ । यद्यपी आरडिटी पोजेटिभ देखिएकोले उनमा यसअघि कोरोनाको संक्रमण भएको भने देखिएको चिकित्सकले बताएका छन् ।
ब्लड क्यान्सरले ग्रसित युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए। तर, मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए। शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति युवतीलाई नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले आरडिटी टेष्ट गर्दा तेस्रो पटकसम्म पोजिटिभ नै आएपछि नारायणी अस्पताल रेफर गरिएको थियो । अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो।