ओखलढुंगा । ओखलढुंगाकी एक अविवाहित किशोरीले क्वारेन्टाइनमै मृत बच्चा जन्माएकी छन्।
मोलुङ गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेकी १६ वर्षीय किशोरीले बिहीबार साँझ मृत बच्चा जन्माएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो ।
मंगलबारदेखि क्वारेन्टाइनमा रहेकी उनले बुधबार साँझ मृत बच्चालाई जन्म दिएकी हुन्। बुधबार २ बजेदेखि पेट दुखेको बताएकी थिइन्। बुधबार साँझ ५ बजे उनले अन्दाजी ६ महिनाको गर्भ मृत जन्माएकी हुन् ।
मृत जन्मिएको बच्चालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको भएपनि जिल्ला अस्पतालमा डीएनए परीक्षण नहुने भएकाले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले बताउनुभयो। जिल्लाको मोलुङ गाउँपालिकाकै स्थानीय ती युवती कामको सिलसिलामा काठमाडौं गएर फर्केकी थिइन् ।
किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई रक्तश्राबको समस्या भएपनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ।
मोलुङ गाउँपालिकामा ३७ जना क्वारेन्टाइनमा राखिएको छ। शुक्रबार गाउँपालिकामा ३८ जनाको आरडिटी परीक्षण गरिएको थियो। कसैको रिपोर्ट पनि पोजेटिभ नदेखिएपछि गाउँपालिकाका दुईवटै क्वारन्टाइन खाली गरिएको छ ।