अरुण तेस्रो प्रभावितहरु फेरि आन्दोलित

संखुवासभा । संखुवासभामा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत चार सय केभी प्रसारण लाइनका जग्गाधनीहरू पुन आन्दोलित भएका छन् ।

आइतबार अरुण तेस्रो प्रसारण लाइनका जग्गाधनीहरूले संखुवासभाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । गत असार १५ गते निर्धारण गरिएको १४ वटा टावरको मुआब्जा पुनरावलोकन गरी चित्तबुझ्दो मुआब्जा हुनु पर्ने अरुण तेस्रो चार सय केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिकासंयोजक छत्रमणी काफ्लेले बताए  ।

गत २०७९ चैत ६ गते गठित मुआब्जा निर्धारण उपसमिति र उक्त समितिले गरेका निर्णयहरु त्रुटिपूर्ण भएको भन्दै खारेज गर्ने चार सय केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले माग गरेको छ । त्यस्तै गरी बाँकी टावरहरुको र तारमुनिका जग्गाहरुको चित्तबुझ्दो मुआब्जा एकै पटक हुनु पर्ने र तारमुनिका घडेरीहरुको लगत लिई प्रचलित बजार मूल्य अनुसारको मुआब्जा उपलब्ध माग गरेको छ । सरकारले जनतालाई सुकुमबासी बनाउन लागेको कारण बाध्य भएर पुन आन्दोनमा उत्रिएको उनको भनाइ छ । माग पुरा नभए चरणवद्ध आदोन्लनका कार्यक्रम घोषण गरिने संयोजक काफ्लेले बताए ।

गत असार १५ गते शुक्रबार संखुवासभाका प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा जग्गा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले खाँदबारी नगरपालिकाभित्रका १४ वटा पोलको मुआब्जाबापतको रकम पाँचदेखि आठ लाख रुपैयाँसम्म प्रतिरोपनी दिने निर्णय गरेको थियो । उक्त निर्णय चित्त नबुझेको भन्दै जग्गाधनीले संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको हो ।

सोमबार, ०१ असोज, २०८०, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर