इटहरी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ट्राफिक लाइटमा आक्रमण भएपछि इटहरीको ट्राफिक व्यवस्थापन पुनः अस्तव्यस्त बनेको छ।
कोशी प्रदेश सरकारले सुचारु गरेको ट्राफिक लाइट प्रणालीले इटहरीमा यातायात व्यवस्थापनमा उल्लेख्य सुधार ल्याएको थियो। तर, आन्दोलनका क्रममा फुटेका लाइट र क्षतिग्रस्त उपकरणका कारण अहिले ट्राफिक नियन्त्रण हातको इसारामै सीमित भएको छ।
आन्दोलनका क्रममा ट्राफिक लाइट र ‘नो पार्किङ’ बोर्डहरू जलाइएपछि समस्या झनै बल्झिएको हो। अहिले ट्राफिक प्रहरीले आफ्नै गाडी नभएका कारण पनि नियमित नियन्त्रणमा कठिनाइ भोग्नुपरेको छ। अर्कोतिर आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएकोले प्रहरीको मनोबल समेत कमजोर हुँदा समस्या भएको छ ।
चोकमा खटिएका एक ट्राफिक जवानले भने, “अहिले प्रहरीको इसारालाई बेवास्ता गर्दै बाटो काट्ने, रोक्न खोज्दा जाइलाग्ने घटना बढेका छन्। नागरिकले ट्राफिक नियम उल्लङ्घनलाई गर्वको रूपमा लिने प्रवृत्ति फैलिएको छ ।” आकस्मिक प्रयोजनका लागि राखिएका डिभाइडर र चेतावनी बोर्डहरू समेत जलाइएपछि प्रहरीलाई साना–ठूला सबै चोकमा पुग्नुपर्ने बाध्यता भएको उनले बताए।
इटहरी–आइतबारे मार्गमा दैनिक सवारी चलाउने सफारी चालक ज्ञानदिप तामाङ भन्छन्, “पहिले ट्राफिक लाइट र पार्किङ प्रणालीले सहज थियो। अहिले जथाभावी सफारी रोकिँदा बजारभर जाम लाग्ने गरेको छ। चाडपर्व नजिकिँदै जाँदा सबै सफारी बजारमै जम्मा हुने हुँदा अवस्था झन गाह्रो बनेको छ।”
यसअघि इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रमा एकतर्फी पार्किङको व्यवस्था गरेको थियो। केही समय कारबाही र अनुगमन भएपनि अहिले पुरानै अव्यवस्था दोहोरिएको छ। नगर प्रहरीले सुरुमा सफारी चालकका कार्ड जाँच्ने र कारबाही गर्ने काम गरेको भए पनि अहिले त्यो प्रक्रिया रोकिएको छ।
मुख्य राजमार्गमा सफारी चलाउन नपाइने निर्णय उपमहानगरले अघि सारेकोमा त्यो पनि कार्यान्वयन हुन छोडेको छ। मेयर हेम कर्ण पौडेलले असोज २१ गते सामाजिक सञ्जालमार्फत नगरवासीमा चार बुँदे अपिल जारी गर्दै “नगरको सेवा प्रवाह सुचारु र ट्राफिक व्यवस्थापनमा सुधार ल्याइने” बताएका थिए। तर, दुई सातापछि पनि त्यो उद्घोषको प्रभाव बजारमा देखिएको छैन।
अपिलको अन्तिम बुँदामा नगर प्रहरी सेवालाई व्यवस्थित गर्ने र बजार सुरक्षामा परिचालन गर्ने भनिए पनि हालसम्म बजार क्षेत्रमा त्यसको उपस्थिति देखिएको छैन। ट्राफिक प्रहरी र नगर प्रहरी दुबैको उपस्थिति न्यून भएका कारण सडकमा सर्वसाधारण र सवारी चालकले असहज यात्रा गर्नुपरेको छ। आन्दोलनका क्रममा प्रहरीमाथि भएको निर्मम आक्रमणका कारण पनि धेरै प्रहरी चोकमा खटिन हिचकिचाइरहेको स्रोतले बताएको छ।
इटहरीमा लामो समयदेखि पार्किङ र बजार व्यवस्थापन चुनौतीको रूपमा देखिँदै आएको थियो। तर हाल ट्राफिक लाइट फुटेपछि र प्रहरी बलको न्यून उपस्थितिका कारण यो समस्या चाडपर्वको समय थप गम्भीर र अव्यवस्थित बनेको छ।
