विराटनगर । उदयपुरको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपरको बस्तीका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको आँकलन गरिएको छ ।
भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ जना र विराटनगर–१७ का २ जनामा कोरोना देखिएपछि गरीको परीक्षणमा आसपासका बस्तीका बासिन्दामा गरिएको परीक्षणमा ११ जना संक्रमित पाइएको छ ।
थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । कोरोना संक्रमितमध्ये ५ जना निको भइसके । जसमा २४ जना भुल्केका छन् ।
भुल्केको मस्जिदमा बस्नेहरुमा कोरोना पुष्टि भएपछि संकलन गरिएको ६९ जनाको स्वाब विराटनगर स्थित कोशी अस्पतालमा परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसबाहेक नेपाली सेनाले संकलन गरी काठमाडौं लगेको २५२ जनाको स्वाबमध्ये तीन जनामा कोरोना देखिएको छ । अझै केहीको रिपोर्ट आउन बाँकी छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका विराटनगरमा गरिएको परीक्षण बस्तीका घरमुलीहरुको हो । र्याण्डम्ली घरका एक जनाको दरले नमूना संकलन गर्दा ८ जनामा संक्रमण देखिएकोले समुदाय नै संक्रमित भएको आशंका बढेको छ । संक्रमितको परिवारका सदस्य र उनीहरुको सम्पर्कमा आएकाहरूको परीक्षण बाँकी नै रहेको सुवेदीले बताउनुभयो ।
भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । त्यसैले पनि संक्रमण समुदायमा पुगेको आशंकालाई बल मिलेको छ ।

६९ जनाको नमूना परीक्षणको क्रममा ८ जना पोजिटिभ देखिनुले परीक्षण द्रुत गतिमा बढाउनुको विकल्प नभएको देखिएको छ । भुल्के मस्जिदमा बस्नेको सुरुमा र्यापिड किटबाट परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । किटको विश्वसनीयता नभएपछि अहिले सो क्षेत्रमा पीसीआर परीक्षण गर्न थ्रोट स्वाब नै संकलन गरिएको छ ।
मस्जिदमा रहेका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्रमण भएको देखिन्छ । यो अवस्थामा उनीहरु कहाँबाट संक्रमित भए भन्ने नखुल्दा समुदायमै कोरोना छैन ? भन्ने सवाल उठिरहेको छ । जनस्वास्थ्यविज्ञहरुले उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्नुपर्नेमा जोड दिएका छन् ।
उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन् । विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो। तेस्रो चरणमा संक्रमण फैलिएको अवस्थामा भयाबह अवस्था आउनसक्छ ।
नेपालमा पहिलो पटक माघ १५ गते संक्रमण भेटिएको थियो । त्यसपछि चैत २२ गते कैलालीकी महिला संक्रमित भएसँगै कोरोना दोस्रो चरणमा प्रवेश गरेको थियो । उदयपुरको घटनाले तेस्रो चरणमा प्रवेश गरेको आशंका बढेको छ ।
घरमुलीको नमुना लिएर परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको बताउँदै उदयपुरबाट प्रतिनित्वि गर्ने प्रदेशसभा सदस्य विमल कार्कीले उनीहरुका परिवारका सबै सदस्यमा संक्रमण भएको हुनसक्ने बताउनुभयो । ‘प्रति घरमा ५ जनाको हिसाव गर्दा पनि न्यूनतम ५० जनामा कोरोना संक्रमण भएको देखिन्छ’ उहाँको भनाइ छ ।
सांसद कार्कीका अनुसार सोही मुस्लिम बस्तीबाट उत्पादित तरकारी गाईघाट बजारमा सप्लाई हुने भएकोले कम्तिमा त्रियुगाका १०, ११, १२ र ३ नम्बर वडाको घरघरमा त्यो तरकारी पुगेको छ । तरकारीमार्फत् गाईघाटसहित त्रियुगाका धेरै ठाउँमा कोरोना भाइरस सर्नसक्ने देखिएकोले परीक्षण बढाउनुपर्ने र उदयपुरमै कोरोना अस्पताल निर्माण गर्नुपर्ने उहाँले माग गर्नुभएको छ ।
बस्तीमा कोरोना फैलिएको देखिएको भएपनि सरकारले कोरोना तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिसकेको छैन । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मालिमा तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संक्रमण समुदायमा पुगेको हो कि हैन भन्ने अध्ययन भइरहेको बताउनुभएको छ ।
थप केसहरुको अध्ययनपछि निश्कर्षमा पुग्न सकिने बताउँदै मन्त्री कार्कीले जोखिम बढ्न नदिन त्यस क्षेत्रमा कडाई गर्ने र परीक्षणलाई व्यापक बनाइने जानकारी दिनुभयो । यसैगरी सप्तरी र सिरहामा पनि सतर्कता अपनाउनुपर्ने देखिएकोले त्यसमा संघीय सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । जोखिम बढ्न नदिन संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।
वैशाख ५ गते परीक्षणका क्रममा नुरी मस्जिदमा बसेका १२ जना र वैशाख ६ गते अर्का एक जनामा कोरोना पुष्टि भएपछि भुल्के क्षेत्रमा आउजाउमा पूर्णतः रोक लगाइएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार भारतबाट आएका मानिसहरूको स्वास्थ्य परीक्षण गरिदिन तीन साताअघि नै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यसको सुनुवाई नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ । अब समुदायमा थप संक्रमण फैलन नदिन तीनै तहका सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो ।
अब भुल्के र चौदण्डी नगरपालिकाको ५ नम्बर वडालाई संवेदनशिल क्षेत्र मानिएको छ । ती क्षेत्रमा बाहिरबाट मानिस जान र टोलबाट बाहिर निस्कन रोक लगाइएको छ । सरकारले संक्रमण फैलिएको क्षेत्रमा उच्च सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।
सुरूमा संक्रमित पाइएका ११ जना भारतीय २६ मंसिरमा नै नेपाल छिरेको भन्दै उनीहरूको सम्पर्कमा आएकाहरूलाई परीक्षणका लागि आउन प्रहरीले दुई दिनअघि सार्वजनिक आव्हान नै गरिसकेको छ। स्थानीय प्रशासनका अनुसार उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएका हुन्।
विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ। लकडाउन, सामाजिक दुरीको अलावा सम्भावित संक्रमितको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ।
संक्रमितहरुको विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।