विराटनगर । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा लकडाउन कडा बनाउने र आवतजावत पूर्ण रुपमा नियन्त्रण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।
यसअघि १३ जनामा संक्रमण देखिएको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ११ जनामा मंगलबार संक्रमित पुष्टि भएपछि आवतजावतमा कडाई गरी परीक्षणलाई व्यापक बनाउने निर्णय प्रदेश सरकारले गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार त्रियुगा ३ चौडदण्डी ५ सहित मस्जिदलगायत धार्मिक गतिबिधि हुने क्षेत्रहरुलाई सुरक्षा निगरानीमा राखिएको छ । ती क्षेत्रमा आवतजापत पूर्ण रुपमा रोकेर जिल्लामा सबैखाले गतिबिधिमा कडाई गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको मन्त्री कार्कीले बताउनुभयो ।
प्रदेश सरकारले उदयपुरमा आम परीक्षणको प्रक्रिया अगाडि बढाउन आवश्यक उपकरण र सामाग्रीको व्यवस्थान गर्न पनि संघीय सरकारलाई अनुरोध गरेको छ । यसैगरी उदयपुरसँगै सिरहा र सप्तरीमा पनि जोखिम हुनसक्ने भन्दै सरकारले ती जिल्लामा पनि कडाई गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यसैबीच थप ११ जनामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन कडा बनाएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।
भुल्केमा संक्रमितको संख्या २४ पुगेको छ। भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो भने थप एक जना मस्जिदमै रहेका विराटनगरका बृद्धमा शनिबार संक्रमण पुष्टि भएको थियो ।
ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि शनिबार भुल्केका ६९ जनाको स्वाब संकलन गरी विराटनगर ल्याएर परीक्षण गर्दा थप ८ जनामा संंक्रमण देखिएको हो । यसैगरी आइतबार र सोमबार नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाब संकलन गरी काठमाडौं लगिएकोमा ३ जनामा संक्रमण भेटिएको छ। काठमाडौं लगिएका सबै स्वाबको नतिजा आइसकेको छैन ।
कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्मगुरु बसेका अन्य ६ मस्जिद उदयपुरमा रहेको खुलेको छ । ती बस्तीमा पनि कडाई आवतजावत कडाई गरेर स्वाब नमूना परीक्षण गर्ने तयारी गरिएको छ ।