विराटनगर । मोरङको रंगेली नगरपालिकाका एक जना सुनचाँदी व्यवसायी करोडौं मोल पर्ने गरगहना लिएर परिवारसहित फरार भएका छन् ।
रंगली नगरपालिका वडा नं ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका संचालक पवनकुमार सोनी फरार भएका हुन् । करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएपछि उनको पसलमा सुन धरौटी राखेर रकम लिएकाहरु र ब्याजमा रकम लगाउनेहरु विचल्लीमा परेमा छन् ।
पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी परेअनुसार २ करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदी लिएर सोनी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । सोनीले नगदसमेत लिएर फरार भएको स्थानीयले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रंजनकुमार दाहालका अनुसार उजुरी पर्ने क्रम जारी रहेकाले सोनीले गरेको आर्थिक अपचलनबारे थप खुल्दै जाने देखिएको छ । सोनीसँग काम गर्ने कर्मचारीको विश्वासको भरमा लाखौं रुपैयाँ सापटी समेत दिएको स्थानीय सागर साहले बताएका छन् । उनले भने, “मान्छे नै फरार भएपछि हामी त डुब्ने भयौं ।”
स्थानीय रंजित यादवले आफूलाई सोनीले विभिन्न मितिमा दिएको चेक साट्न जाँद बैंकमा बाउन्स भएको बताउँदै भने, “पैसा मौज्दात नभएको बैंक खाताको चेक दिएका रहेछन् ।” यादवले आफूहरुले विश्वासमा परेर कारोबार गरेको तर परिवारसहित व्यवसायी फरार भएपछि आफूहरुको विचल्ली भएको सुनाए ।
प्रहरीका अनुसार सोनीले रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदकिा गरगहना धरौटीमा राखेको पाइएको छ । कतिपयको जग्गा नेपाली कागजमा तमसुक बनाइ रकम लेनदेन गरेको पाइएको छ । रंगेली न.पा. ७ का अजय रायले भने,“तमसुक बनाएर मैले २१ लाख रुपैयाँ सोनीलाई दिएको थिएँ । अब उनी भागेपछि कसरी असुल उपर गर्ने भन्ने चिन्ता भएको छ ।”
स्थानीय दुर्गा मन्दिर पछाडिको एक कठ्ठा जग्गामा केही वर्ष अगाडि घर निर्माण गरेर सोनी बस्दै आएका थिए । तीन जना दाजुभाईले गत शुक्रबार अंशबण्डा समेत गरेको बताइएको छ । तर, केही दिन अगाडि नै घरमा रहेको चल–अचल सम्पत्ति समेत ट्रकमा लोड गरेर विराटनगर तर्फ लगेको स्थानीयले बताएका छन् । पीडित रायले भने,“घरको मुल गेटमा तालचाबी लगाएर सबै भागेछन् ।” पछि आफूहरुले खोजी गर्दा सोनी पाँच दिनदेखि रंगेलीमा नरहेको खुलेको रायले बताए ।
ओमशान्ति ज्वलर्सले त्यो घर पनि लुम्बिनी बिकास बैकमा धितोमा राखेर १ करोडौं रुपैयाँसम्म ऋिण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको पायएको छ । बैंककै नाममा रहेको घर जग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ । डिएसपी दाहालले भने,“रंगेलीका अन्य बैक तथा वित्तीय संस्थाबाट समेत सोनीले ऋण लिएको हुनसक्ने देखिन्छ ।” महंगो ब्याज पाउने आशमा कतिपय स्थानीयले नगदसमेत दिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।