
गणेश लम्साल
नगरबाट उपमहानगर अनि महानगर हुँदै प्रदेश १ को राजधानी बन्न सफल विराटनगर आगालागीको उच्च जोखिममा पर्दै गएको छ । तर, आगो निभाउने दमकलको संरचना र अवस्था भने बर्वाौ पुरानो कामचलाउ दयनीय छ । विराटनगर प्रदेश १ को राजधानी मात्र नभएर देशकै दोस्रो ठूलो औद्योगिक तथा प्रशासनिक शहर हो । ७६.९९ वर्गकिलोमिटर क्षेत्रफल भएको विराटनगरमा ५० हजार हाराहारी घरघुरी छन् भने करिब तीन लाख मानिसको बसोवास छ । शिक्षा र स्वास्थ्यको हब बनिसकेको विराटनगरमा दुई ठूला मेडिकल कलेज, दुई दर्जन ठूला अस्पताल र दजनौं शिक्षण संस्थाहरु छन् । प्रदेश १ सरकारका १३ वटा मन्त्रालय र प्रदेशसभा पनि यही छ ।
भाटभटेनी, सेन्ट्रल मल जस्ता आधुनिक ठूला र अग्ला महल सञ्चालन भइसकेका छन् । प्रदेश राजधानी घोषणा भएपछि धेरै ठूला मल र भवनहरु निर्माण हुने क्रम जारी छ । बसोवास र व्यापार व्यवसायको घनतत्व पनि बढ्दो छ । विराटनगर गर्मी याममा ४१ डिग्रीसम्म तापक्रम पुग्दछ । चैत बैशाख र जेठमा हावाहुरी पनि बेस्सरी चल्ने भएकोले आगालागीको जोखिम सधै हुन्छ । फेरि विराटनगर महानगरभित्र र आसपास ठूला साना उद्योगहरु प्रशस्त छन् ।
शहरमा बतानुकुलित यन्त्र (एसी) जडान गर्ने क्रम बढ्दो छ । शहर स्मार्ट भइनसकेकोले बिजुलीका तारहरु पनि अलपत्र र खुल्ला छन् । प्रज्वलनशिल पदार्थ बिक्रि गर्ने पेट्रोलपम्म पनि यत्रतत्र असुरक्षित अवस्थामा सञ्चालनमा छन् । खाना पकाउने ग्यास सिलिण्डर जताततै बिक्रि गर्न छुट छ । यसैले कहि कतै अचानक आगलागी भएमा महानगरपालिकासँग भएका साना तीन वटा दमकलले मात्र नियन्त्रण गर्न नसक्ने र विराटनगरमा धेरै ठूलो धनजनको क्षति हुने निश्चित छ ।
हाल विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा जम्मा पाँच वटा दमकल छन । भएकामध्ये पनि सबैभन्दा ठूलो एउटा दमकल थन्किएर बसेको छ । अर्को एउटा दमकल धेरै पुरानो भएकोले विराटनगरबाहेक अन्त जान सक्दैन । बाँकी रहेका तीन वटा दमकल मात्र सुचारु छन् । तीन हजार लिटर पानी बोक्ने क्षमता भएको एउटा दमकल भर्खरै प्रदेश सरकारले महानगरलाई दिएको हो । अचानक ठूलो आगगाली भएमा चालु अवस्थामा रहको ३ हजार लिटर पानी बोक्नसक्ने क्षमताका तीन वटा दमकलले मात्र नियन्त्रण गर्नसक्ने अवस्था छैन । अर्कोतिर विराटनगवरमा अग्ला मल र घरहरु निर्माण भएपनि बारुणयन्त्र शाखामा आगो निभाउन चाहिने हेभी क्रेन छैन । आगो निभाउँदा चाहिने आवश्यक केमिकल र अरु अवश्यक सुरक्षा उपकरणको पनि अभाव छ । महानगरपालिकाको बारुणयन्त्र शाखामा जम्मा २ जना मात्र तालिमप्राप्त जनशक्ति छन् । बाँकी १२ जना जनशक्तिले अह्राए सुनाएकै भरमा काम गरिरहेका छन् ।
क्रेनसहितको दमकलको अभाव छ, विराटनगरमा । अर्कोतिर ठूला स्थानमा आगालागी भएमा भित्र कसरी पस्ने र पानी कसरी पुर्याएर छर्केने भन्नेबारे न त योजना छ, न त कर्मचारीहरुलाई तालिम र अभिमुखिकरण । ठूलो आगलागी भएमा घटनास्थलमा जाने जनशक्तिको पनि अभाव हुनेछ । नियम अनुसार एक जना दमकलमा चालकसहित कम्तीमा ६ जना जनशक्ति आवश्यक पर्छ ।
जोखिम बढ्दै गएपनि आगलागीबारे सूचना संकलन गर्ने र बुझ्ने प्रणाली विराटनगर महानगरपालिकामा परम्परागत छ । अझै सर्बसाधारणले आगलागी भएमा प्रहरी वा जनप्रतिनिधिहरु मार्फत ०२१—४२००० नम्बरको ल्याण्डलाइनमा फोन गरेर सूचना दिनुपर्ने बाध्यता छ । महानगरबासी मात्र नभएर जनप्रतिनिधिहरुसमेत दमकललाई कहाँ र कसरी फोन गर्ने भन्ने जानकार छैनन् । यसबारे महानगरले सचेतना अभियान पनि चलाउने गरेको छैन । जसले गर्दा दमकल शाखालाई समयमै आगालागीको सूचना पाउन गाह्रो हुने गरेको छ । र, सुचना पाएपछि पनि समयमा पुग्न नसक्दा धेरै धनजनको क्षति भैसकेको हुन्छ ।
अझैसम्म महानगरपालिकाले सूचना संकलन र विश्लेषणका लागि बारुणयन्त्र शाखाको मोवाइल एप र पोर्टल बनाउन चासो दिएको छैन । कार्यरत कर्मचारीहरु पनि परम्परागत सूचना प्रणालीकै भरमा छन् । यसैले अब प्रहरी, प्रशासन, प्रदेश सरकार र अन्य पालिकाहरुले एकैचोटी सूचना पाउने प्रणालीको अति आवश्यकता छ । दमकललाई सहज रूपमा पानी भर्ने स्टेशन पनि छैन । उनीहरू पोखरी र खोलाबाट पानी भर्न बाध्य छन् । जसले आगो नियन्त्रणमा ढिलाई हुने गरको छ ।
माघ २० गते झापाको मेचीनगर ६ काँकडभिट्टामा रहेको एसएस फुटबेयरमा भीषण आगलागी भयो । नगरको एउटा दमकल पनि बिगारेर राखिएकोले भारतको पश्चिम बंगालबाट आगो निभाउन दमकल बोलाउनु पर्यो । दमकल आउन ढिलाई हुँदा उद्योग जलेर खरानी भयो । यति मात्र हैन मेची नपा १४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा २८ माघमा आगलागी भयो । समयमै आगो नियन्त्रण हुन सकेन । गत २० वैशाखमा मेचीनगर १५ स्थित पराजुली ग्याँस उद्योगमा पनि आगलागी हुँदा करोडौं क्षति भएको थियो ।
भनिएको छ, आगो लाग्नुभन्दा लाग्न नदिनु नै उचित समाधान हो । किनभने आगो लागिसकेपछि त्यसले वस्तुलाई मात्र हैन, धनी र उसको परिवारलाई मात्र नभएर सिँगो राष्ट्रलाई खरानी बनाउँछ । प्रदेश १ को राजधानी विराटनगर अगालागीको उच्च खतरामा छ । तर, यहाँ आगो निभाउने बारुणयन्त्र भने पुरानै ढर्रामा छन् । यसैले होसियार ! खरानी हुनसक्छ, प्रदेश १ को राजधानी पनि ।