विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् । बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
कोरोना बिमा गरेका करिब एक लाख व्यक्तिले बिमा दावी गरे पनि भुक्तानी पाउन सकेका छैनन् । कोरोना बिमाबाट अर्बौंको दायित्व सिर्जना भएको भन्दै अर्थमन्त्री शर्माले त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको बताए ।
अर्थमन्त्री शर्माले बिमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको समेत औंल्याए । उनले बिमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताए ।