विराटनगर । कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल माक्स र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरको ‘श्री सर्जी इम्पेक्स’ लाई तीन लाख रूपैयाँ जरिवना गरिएको छ ।
अनुचित लाभ लिने उद्देश्यले कालोबजारी गर्ने गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रूपैयाँ जरिवना गरेको हो ।
इम्पेक्सका सञ्चालक राजेशकुमार अग्रवाललाई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । विराटनगरका पुरानो र नाम चलेको सर्जिकल सामान तथा औषधीको थोक विक्रेता अग्रवाललाई मोरङ प्रहरीमा राखेर थप कारबाही चल्ने भएको छ ।
‘प्रकोपको बेला सर्जिकल माक्सको कालोबजारी गरि अनुचित लाभ लिने मनसाय देखिएको पाइयो वाणिज्य कार्यालयका प्रमुख बरालले भन्नुभयो, ‘कालोबजारी गर्ने सर्जी इम्पेक्सलाई ऐनमा भएको व्यवस्था अनुरूप हदैसम्मको बित्तीय कारवाही गरिएको हो ।’ उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार अनुचित क्रियाकलप गरेको हुदा दफा ४९ को १ ख बमोजिम हदैसम्मको कारवाही गरिएको छ ।
विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली, औषधि व्यवस्थापन विभाग विराटनगर, वाणिज्य कार्यालय र मोरङ प्रहरीले संयुक्त रूपमा गरेको अनुगमनको क्रममा आइतबार दिउँसो श्री सर्जी इम्पेक्सबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको थियो । मास्क र सेनिटाइजर मौज्जात गरि कालोबजारी गर्ने मनसायले संचालक अग्रवालले राखेका थिए । बरामद भएको मास्क जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाउनेछ ।