आकासे पुलका बनाउन महानगरको पुनः पहल, राजबंशी चोकमा बन्ने भयो आकासेपुल

विराटनगर । विराटननगर महागनरपालिकाले आकासे पुल बनाउने योजनालाई फेरि प्राथमिकतामा राखेर कार्यान्वयनका लागि पहल थालेको छ । विराटनगरको बसपार्कदेखि राजवंशीचोकसम्म विभिन्न चार ठाउँमा आकासे पुल बनाउने योजना केही समय अवरुद्ध भएपछि फेरि महानगरले छलफल अगाडि बढाएको हो ।

सोमबार विराटगनर महानगरपालिकाको प्राविधिक टोलीले राजवंशी चोकमा आकासे पुल निर्माणको सम्भाव्यता अध्यन गरेको छ । स्थानीयको सहयोग भएमा महानगरपालिकाले तिहारभित्रै विराटनगरको पहिलो आकासे पुल निर्माण गरिसक्ने गरी काम गर्ने योजना बनाएको छ । सोमबार महानगरको ईन्जिनियरसहितको प्राविधिक टोलीले आकासे पुलको आवश्यकता र सम्भाव्यता अध्ययन गरेको थियो । त्यस टोलीले स्थानीयसँग छलफल गरी समन्वय गरिदिनसमेत आग्रह गरेको छ ।

राजवंशी चोकपूर्व र पश्चिमतर्फ ठूलो आवासीय क्षेत्र रहेको, पश्चिममा इक्राही ज्वालाटोल हुँदै सुनसरीसम्मबाट मानिसहरु आउने र पूर्वतर्फ पुष्पलालचोक झोराहाटसम्मका मानिसको आवतजावत हुने मुख्य चोक अधिकांश समय व्यस्त रहन्छ । पैदलयात्रीले बाटो काट्दा दुर्घटनाको जोखिम रहेको र नजिकै विद्यालयहरु भएका कारण बालबालिकाहरुलाई बाटो काट्न सास्ती परेकोले राजवंशी चोकमा आकासे पुल निर्माण गर्ने निश्कर्षमा महानगरपालिका पुगेको हो ।
विराटनगर महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले राजवंशी चोकमा आकासे पुल निर्माण गर्न अध्ययन, अवलोकन भइरहेको जानकारी दिए । उनले स्थानीयसँग छलफल गरी सबैको सहयोग र समन्वयमा काम अघि बढाउन महानगरले छलफल गरिसकेको बताए । विकासका लागि स्थानीयको भूमिका महत्वपूर्ण हुने भएकोले सकारात्मक कामका लागि सहयोग हुने विश्वास प्राप्त भएको उनले बताए ।

यसैगरी कञ्चनबारी, बरगाछी र घाँसचोकमा पनि आकासे पुल निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी महानगरले गरेको छ । कञ्चनबारी र बरगाछीमा स्थानीयले आकासे पुल निर्माणमा असहयोग गरेकाले महानगरले काम अघि बढाउन सकेको थिएन । कञ्चनबारीमा चोकभन्दा उत्तर की दक्षीण तर्फ बनाउने भन्ने बिबाद छ भने त्यहाँका केही स्थानीयले आफ्नो घर अगाडि आकासे पुल नबनाइदिन आग्रह गर्दै महानगरपालिकामा निवेदन दर्ता गराएका छन् ।

यस्तै समस्या बरगाछीमा पनि देखापरेको छ । बरगाछीमा देखापरेको समस्या समाधान उन्मुख छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बरगाछीको समस्या समाधान गर्न आफूले समन्वय गर्ने भन्दै काम अघि बढाउने तयारी गर्न प्राविधिकहरुलाई निर्देशन गरिसकेका छन् । कञ्चनबारीमा प्रदेशसभा सांसद चुमनारायण तबदार र वडाध्यक्ष देवेन्द्रराज पोखरेलसँग छलफल गरी समस्या समाधान गर्ने तयारी महानगरले गरेको छ ।

विराटनगरको घाँस चोकमा आधुनिक, लिफ्ट सुविधासहितको आकासे पुल निर्माणको प्रकृया भने प्रदेश १ सरकारले गर्ने छ । प्रदेश सरकारले केही समयपछि निर्माण प्रकृया अगाडि बढाउने बताएको छ । मुख्य बजार क्षेत्रलाई लक्षित गरेर घाँस चोकमा निर्माण हुन लागेको पुलका लागि कुनै समस्या नरहेकोले प्रदेश सरकारले प्रक्रिया अगाडि बढाउनसाथ काम हुने बताइएको छ ।
विराटनगर महानगरपालिकाले कलेज रोडलाई लक्षित गरेर पाञ्चाली चोक आसपासमा बनाउन लागेको पुल भने स्थानीयको अवरोधका कारण नबन्ने भएको छ । कलेज रोडमा बनाउन खोजिएको पुललाई राजवंशी चोकमा लैजानु उपयुक्त हुने सुझाव कार्यान्वयन गर्दै महानगरले राजवंशी चोकमा पुल बनाउन लागेको हो । पाञ्चाली मोडमा आकासे पुल बनाउन स्थनीय जग्गाधनी नागेश कोइराला र विराटनगरका व्यापारी लक्षमण नेबटियाले अवरोध पु¥याएको बताइएको छ ।

विराटनगर महानगरपालिकाले आकासे पुल निर्माणका लागि सबै प्रक्रिया पुरा गरी कार्यान्वयन मात्र बाँकी राखेको छ । बजेट सुनिश्चितता गरी ठेक्का प्रक्रिया पुरा भएको र ठेकेदारले पुलका लागि आवश्यक पर्ने सबै सामानसमेत तयारी अवस्थामा राखेकोले निर्माण सुरु भएको ४५ दिनभित्रै पुल तयार गर्ने अवस्था रहेको बताइएको छ ।

मङ्गलबार, १९ असोज, २०७८, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर