विराटनगर । नेपाल विद्युत प्राधिकरणले विराटनगर ग्राहक सेवा केन्द्रले शनिबार बिजुलीको खम्बा प्रयोग गरेबापतको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायक कम्पनीको तार काटिदिएको छ । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको हो ।
विराटनगर ३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । यस्तै प्राधिकरणले बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ मा बिस्तार गरिएको इन्टरनेट र केबलको तार काटेको छ भने ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा बिच््याइएको तारपनि प्राधिकरणले काटेको छ ।
नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् भने केबलमार्फत प्रवाह हुने टेलिभिजन सेवा पनि अबरुद्ध भएको छ ।
केही समय यता बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद भइरहेको थियो । प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले त्यसलाई बेवास्ता गर्दै आएका थिए । प्राधिकरणले असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सार्वजनिक सूचना निकालेको थियो । त्यस अनुसार बक्यौता भाडा रकम नतिरेपछि प्राधिकरणले शनिबारबाटै सांकेतिक रुपमा धमाधम तार काट्न थालेको हो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर ग्राहक सेवा केन्द्रका प्रमुख रोशनकुमार खड्का सांकेतिक रुपमा मात्र शनिबार विराटनगर र आसपासका केही ठाउँको तार काटिएको बताए । उनले आइतबार केन्द्रबाट आउने निर्देशनका आधारमा थप कारवाही अघि बढ्ने जानकारी दिएका छन् ।
विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेर उपभोक्ताहरुलाई सेवा दिँदै आएका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् । आार्थिक वर्ष २०७७/७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता अशुल गर्नुपर्ने देखिएको प्रमुख खड्का जानकारी दिएका छन् । उनले भने ‘हामीले सार्वजनिक सूचना प्रकाशन गरेपछि सुविसु कम्पनीले यस विषयमा बुझ्न हामीसँग सम्पर्क गरेको थियो तर समयभित्र उनीहरुले भुक्तानी गरेनन्, अरु कम्पनीहरु हाम्रो सम्पर्कमै आएनन् त्यसैले केन्द्रको निर्देशन अनुसार हामीले तार काटेका हौं ।’
प्राधिकरणका देशभर रहेका १२९ वितरण केन्द्र अन्तरगत एउटाएउटा ठाउँमा सांकेतिक रुपमा शनिबार तार काटिदिएको छ । तर, विराटनगरले भने तीन ठाउँमा तार काटेर दबाब बढाएको छ । प्रादेशिक कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट हरेक वितरण केन्द्रबाट कम्तिमा १ र २ ठाउँमा तार काटिएको बताइएको छ ।
आइस्पानले कुनकुन ठाउँमा तार काटियो र त्यसबाट कति सेवाग्राही प्रभावित भए भन्ने विवरण संकलन भइरहेको जानकारी लिने काम जारी रहेको सीइओ सुभास खड्काले बताए ।