पथरी । धेरैलाई लाग्ने गर्छ स्वदेशमा आम्दानीको लागि उचित काम पाँईदैन । दैनिक जसो युवाहरू सामान्य बिहान बेलुका हातमुख जोड्नकै लागि पनि वैदेशिक रोजगारीमा गइरहेका छन् । आफ्नो सन्तानको लालनपालन र उचित शिक्षाको लागि आम्दानी गर्न धेरैको लागि खाडी मुलुक गन्तव्य बन्दै गएको छ ।
लकडाउन अघि दैनिक १५ सय युवा वैदेशिक रोजगारको लागि नेपालबाट बाहिरिने तथ्याङ्क रोजगार बोर्ड रहेको थियो । तर, मेहेनत गर्न सके आफ्नै देशमा जिन्दगी सहज तरिकाले चलाउन सकिन्छ भन्ने उदाहरण भएका छन्, कोशी राजमार्ग अन्तरगत पथरी कानेपोखरी सडक खण्डको दायाँबायाँ निगुरो, हरियो मकै र केरा बेच्ने स्थानीय ।
सिर्जना राई कानेपोखरी गाउँपालिका ५ स्थित घरबाट विहानै सडक किनारमा निस्किएर हरियो मकै पोल्दै हुन्छिन् । बिगत दुई वर्षयता उनको दैनिकी नै हरियो मकै पोलेर बेच्नु बनेको छ । उनी भन्छिन्, ‘पैसा कमाउनकै लागि बिदेश गइरहनु पर्दैन । स्वदेशमै रहेर पनि मेहेनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’
उनको परिवारमा ६ जना सदस्य रहेकोमा मकै बेचेकै आम्दानीले उनको परिवारको जिबिकोपार्जन भइहरेको छ । मकै पोल्न र बेच्न सिर्जनाकी आमाले सहयोगी भूमिका निभाउँछिन् । दैनिक सो क्षेत्रमा २५ हजार रुपैयाँसम्मको पोलेको मकै बिक्ने गर्दछ ।
सिर्जनाले मात्रै ८ देखि १० हजार रुपैयाँसम्मको मकै बेच्ने गर्छिन् । एक घोगा पोलेको मकैको मूल्य ३० रुपैयाँ पर्छ । उनी कम्तिमा ३०० घोगा मकै एक दिनमा बेच्ने गरेको बताउँछिन् । मकै बेचेर नै उनी मासिक ३ लाख बराबरको कारोबार गर्छिन् ।
सडकको किनारमा निगुरो बेचेर आफ्नो घर राम्रोसँग चलाएकी छन्, ईन्दिरा लिम्बूले । उनको घर कानेपोखरी गाउँपालिका वडा नम्बर ५, जहदा हो । उनी आफ्नो ब्यवसाय गर्नकै लागि जहदादेखि सो क्षेत्रमा आउने गर्छिन् । उनको पनि दैनिक कारोबार ६ हजारदेखि ८ सम्म हुन्छ । निगुरो बेचेरै उनको चार जनाको परिवार राम्रोसँग चलेको छ ।
उनी भन्छिन्, निगुरो बेचेको पैसाले घर खर्च चलाउन पुगेको छ । नपढेर आफूले जस्तो दुःख ब्यहोर्न नपरोस् भनेर छोराछोरीलाई बोर्डिङ स्कूल पढाईरहेको छु ।’ उनले केही पैसा भविश्यका लागि बचत पनि गर्ने गरेको बताएकी छन् । घरको काम गरेर बाँकी रहेको समयमा निगुरो बेच्ने गर्छिन्, उनी ।
घरको काम भ्याएर पनि मासिक २ लाख ५० हजार रुपैयाँसम्म कारोबार गर्ने गरेको उनी बताउँछिन् । महिलाले केही गर्न सक्दैनन् हैन सक्ने काम गरेर राम्रो आम्दानी गर्नसक्ने उनको भनाई छ ।
त्यस्तै बेलबारी नगरपालिका ८ बाट केरा बेच्नका लागि सोही स्थानमा आउने गर्छन्, धनबहादुर धिमाल । उनी पनि ईन्दिरा र सिर्जनासँगै केरा बेच्ने गर्छन् । उनको मासिक आम्दानी ५० हजार रुपैयाँभन्दा धेरै छ ।
सडक किनारमा केरा बेचेरै उनको ६ जनाको परिवारको घर खर्च चलेको छ । उनी भन्छन् ‘पोलेको मकै र निगुरो जस्तो केराको ब्यापार राम्रो नभए पनि घर चलाउन कुनै कठिनााई छैन ।’ सो क्षेत्रमा अन्यले सागसब्जीसहित फलफूल र चिया बेचेरसमेत आम्दानी गरिरहेका छन् ।