विराटनगर । समयमा विद्युत महशुल भुक्तानी नगर्ने मोरङका २ हजार २८२ ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राखेर कारवाही गर्न थालेको छ ।
लामो समयदेखि विद्युत महशुल भुक्तानी नगर्ने त्यस्ता सेवाग्राहीको विद्युत लाइन काटेर कारवाही गर्न केन्द्रबाटै निर्देशन आएको प्राधिकरणको विराटनगर ग्राहक सेवा केन्द्रका प्रमुख मिथिलेश गोइवारले जानकारी दिए ।
मोरङको विराटनगर, रंगेली, उर्लाबारी र बेलबारी ग्राहक सेवा केन्द्र अन्तरगतका २२ सय बढी सेवाग्राहीलाई प्राधिकरणले कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने सबैभन्दा धेरै विराटनगर ग्राहक सेवा केन्द्र अन्तरगतका १५ सय २२ सेवाग्राही छन् भने सबैभन्दा थोरै बेलबारी सेवा केन्द्रका १४० जना छन् ।
प्राधिकरणले मोरङका २२ सय ८२ ग्राहकबाट प्राधिकरणले ५ करोड ५० लाख रुपैयाँ भन्दा बढी विद्युत महशुल वापतको रकम अशुलउपर गर्नुपर्ने देखिएको छ । प्राधिकरणलाई बक्यौता महशुल नतिरेर कालोसूचीमा सूचिकृत भएका ग्राहकहरुबाट न्यूनतम ३ सय रुपैयाँदेखि ४८ लाख रुपैयाँसम्म अशुल गर्नुपर्ने देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको कालोसूचीमा सूचिकृत ग्राहकहरुले नियमित विद्युत महशुल नबुझाएका हुन् । यसमा उद्योगहरुको डिमाण्ड शूल्क बाँकी भुक्तानीसँग सम्बन्धित ग्राहकहरुको सूची भने समावेश नभएको बताइएको छ ।
विराटनगर सेवा केन्द्र अन्तरगत १५ सय २२ सेवाग्राहीमध्ये सबैभन्दा धेरै स्वस्तिक पोलिमर्सले प्राधिकरणलाई ४८ लाख दुई हजार रुपैयाँ महशुल भुक्तानी नगरेको पाइएको छ । पोलिमर्सले महशुल भुक्तानी नगरेपछि प्राधिकरणले कालोसूचीमा राखेर कारवाही गर्न लागेको हो । यस्तै अशोक टेक्सटायलले प्राधिकरणलाई ३५ लाख रुपैयाँ विद्युत महशुल नतिरेको भन्दै कालोसूचीमा परेको छ । टेक्सटायल धेरै वर्ष अघि बन्द भइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित रघुपति जुटमिलले प्राधिकरणलाई ४ लाख २२ हजार रुपैयाँ महशुल तिरेको छैन । रिलायवल प्याकेजिङले ७ लाख २२ हजार, राजवती राइस मिलले २ लाख, जगदम्बा फुट वेयरले ३ लाख, स्वदेशी केवलले ९ लाख २७ हजार रुपैयाँ विद्युत महशुल नतिरेका कारण प्राधिकरणले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा सूचिकृत भएका ग्राहकहरुलाई छिटोभन्दा छिटो बक्यौता महशुल भुक्तानी गर्न आग्रह गर्दै प्राधिकरणले अटेर गरेमा क्रमश: दैनिक पत्रिकामा सूची प्रकाशन गर्ने र त्यसबाट सामाजिक मर्यादामा आँच पुग्नसक्ने तर्फ सचेत रहन पनि भनेको छ ।
मोरङको बेलबारी सेवा केन्द्रमा १४० ग्राहकले ५६ लाख १६ हजार बक्यौता तिर्न बाँकी रहेको छ भने रंगेली सेवा केन्द्र अन्तरगतका ४५१ सेवाग्राहीबाट ४७ लाख ४८ हजार रुपैयाँ बक्यौता अशुल गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । यस्तै उर्लाबारी सेवा केन्द्रका १६९ सेवाग्राहीबाट ३२ लाख ५० हजार बक्यौता अशुल गर्न बाँकी रहेको देखिएको छ । सबैभन्दा बढी विराटनगर ग्राहक सेवा केन्द्रका १५ सय २२ सेवाग्राहीबाट ४ करोड १७ लाख रुपैयाँ बक्यौता अशुल्नु पर्ने देखिएको छ ।
नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा केन्द्र विराटनगरका प्रमुख गोइवारले कालोसूचीमा परेका ग्राहकहरुको लाइन काट्ने क्रम सुरु भएको र पछिल्लो दुई हप्तामा झण्डै २ करोड बक्यौता उठाइसकेको जानकारी दिए । उनले केही दिनभित्रै थप लाइन कटौती गर्ने र त्यसबाट बक्यौता रकम अशुल हुने बताए ।