सहकारीले दियो गाई–भैंसीलाई सुत्केरी भत्ता !

पाँचथर । मिक्लाजुङ गाँउपालिका–५ पाँचथरमा कार्यक्षेत्र रहेको कुरुम्बा कृषि सहकारी संस्था लिमिटेडले गाईभैंसीलाई सुत्केरी पोषण भत्ता दिन थालेको छ ।

ग्रामीण क्षेत्रका कृषकहरुलाई दिगो रुपमा पशु व्यवसायमा आकर्षित गरि दुग्ध मूल्य श्रृङ्खला विकास गर्न सहकारीले यस्तो सुविधा दिन थालेको हो ।

‘आजसम्म यस्तो नयाँ कुरा थाहा पाएँ, सहकारी संस्थाका मान्छे गोठमै आएर ५ सय रुपैयाँ हातैमा दिए’, खुसी हुँदै सचिन लावतीले भने, ‘गत वर्ष सहकारीबाट रु ४० हजार घुम्तीकोष पाएर एक लाख ३० हजारमा भैंसी खरिद गरें, सहकारीकै सिफारीसमा १० हजार अनुदान पनि पाइयो ।’ ‘यो वर्ष त एक वर्षको पाडो पनि २७ हजारमा विक्री गरें । दूध बिक्री गर्न पनि टाढा जानुपर्दैन सहकारीले नै खरिद गरिरहेको छ,’ उनले थपे, ‘सहकारीले संस्था हाम्रो सहयोगी र अभिभावक भएको छ ।’

शेयर सदस्यहरुका गाई भैंसीहरु सुत्केरी भएमा ५ सय रुपैयाँ पोषण भत्ता स्वरुप सहकारीले उपलव्ध गराईरहेको र आगामी दिनमा सहकारीको कार्यविधिलाई थप परिमार्जन गरी कृषकहरुलाई विभिन्न सेवाहरु उपलव्ध गराउन सहकारीले योजना बनाइरहेको कुरुम्वा सहकारी संस्थाका सचिव राजकुमार लावतीले जानकारी दिए । उनका अनुसार सहकारीले ९० जना कृषकलाई गाई भैंसी खरिद गर्नका लागि ४० हजारको दरले ३६ लाख घुम्ति कोष वितरण गरेको छ ।

सहकारी संस्थाबाट कृषकले प्राविधिक ज्ञानका साथै घुम्तीकोष प्राप्त गरेपछि गाई भैंसी खरिद गरी गुणस्तरीय दूध उत्पादनमा लागिरहेको र सहकारीले सेवा क्षेत्रमा एक वटा दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर विभिन्न दुग्धजन्य उत्पादन सुरु गरेको उनले जानकारी दिए ।

कुरुम्वाका ४ सय ९२ महिला र २ सय ३९ पुरुष गरी ७ सय ३१ शेयर सदस्य समावेश गरेको सहकारी संस्थाले कृषि र पशुपालनको क्षेत्रमा एक करोड ५० लाख बढी लगानी गरेको संस्थाका अध्यक्ष खड्गसिं योङहाङले बताए ।

ग्रामीण क्षेत्रमा पशु व्यवसाय, गुणस्तरीय दुग्ध उत्पादन र बजारीकरण गर्न पाँचथरका मिक्लाजुङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका कृषि सहकारी संस्थाहरुसँगको साझेदारीमा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ‘दुग्ध मूल्य श्रृंखला विकास परियोजना’ सञ्चालन भइरहेको गुड नेवर्स ईन्टरनेशनल नेपाल परियोजना अधिकृत कृष्णराज जोशीले जानकारी दिए ।

मिक्लाजुङ गाँउपालिका–५ का वडाअध्यक्ष अबिसन लावतीले सहकारीले नयाँ कार्यको थालनी गरेको भन्दै प्रसंसा गरेका छन् । उनले यस्ता खालका कार्यक्रमले कृषकहरुमा उत्साह थपिएको र आगामी दिनमा सहकारी मार्फत कृषकहरुको आयआर्जन बृद्धि साथै स्वरोजगार मुलक कार्यहरुको निरन्तरता र दिगोपनाको लागि स्थानीय सरकारले समेत आवश्यक सहयोग गर्ने बताए ।

आइतबार, २७ भदौ, २०७८, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर