विराटनगर । सुनसरीको धरानबाट सर्वोच्च अदालतलगायत सरकारी निकायको कागजात किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा डेरा गरी बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछाने रहेका छन् ।
उनले सर्वोच्च अदालत काठमाडौं, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं, गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं, उपसचिव तथा शाखा अधिकृत लेखेको छापका साथै विभिन्न नक्कली कागजात बनाएर दुरुपयोग गरेको खुलेको छ ।
उनले आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरणलाई ठग्ने र प्रलोभनमा पारी नगद रकम लिने धन्दा गर्दै आएको प्रहरीको दाबी छ ।
उनले लोकसेवा आयोगको परीक्षाका लागि भन्दै प्रवेशपत्रसमेत वितरण गर्ने र सो वापत मोटो रकम माग्ने गरेको खुलेको छ । पीडितले लेनदेन प्रकृतीको कागज बनाएर झुक्याई ठगी गरेको किटानी जाहेरी दिएपछि उनलाई डेराबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रबरको छाप १ थान, गोप्य लेखेको रबरको छाप १ थान, जिबछ लामिछानेसमेत लेखेको रबरको छाप १ थान, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रबरको छाप १ थान, उपसचिव लेखेको रबरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप १ थान, लोकसेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थान प्रहरीले बरामद गरेको छ ।
यस्तै प्रहरीले अन्य विभिन्न नक्कली सरकारी कागजातहरु फेला पारेको छ । पक्राउ परेका अमरबहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्यादथप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।