इटहरीमा निलगाइको आतंक, गाउँले त्रासमा

विराटनगर । सुनसरीको इटहरी–४ स्थित नेपाली सेनाको ब्यारेक छेउमा दुई महिना अगाडि आएको निलगाईले आतंक मच्याएको छ । स्थानीय कृषक मिफुङ लिम्बूले चार बिगाहा क्षेत्रफलमा लगाएको कृषि फर्ममा बसेको निलगाईले फर्मको काममा मात्र समस्या पैदा गरेको छैन, स्थानीयलाई त्रसितसमेत बनाएको हो ।

वर्षभरी मेहनतले लगाएको बाली निलगाईले नष्ट गरेको कृषक लिम्बूले बताए । ‘मेरो कृषि फर्ममा निलगाइ आएको दुई महिना भयो’ उनले भने, ‘फर्ममा रहेको फलफुलका विरुवासहित, कुखुरा, बंगुर माछा खेतीमा पनि समस्या बनाएको छ ।’ उनले निलगाईलाई हटाईदिन वन कार्यालय र प्रशासनको गुहार मागेपनि सुनुवाई भएको छैन ।

लिम्बूको फर्ममा असार २२ गते आएको ठूलो निलगाई अझै बसिरहेको छ । ‘निलगाइ आएपछि सुत्न पनि सकेको छैन, फर्ममा जान पनि सकेको छैन’ उनले भने, ‘फर्ममा गयो भने निलगाइले आक्रमण गर्ने त्रास छ ।’ निलगाईको कारण फर्ममा रहेका कुखुरा, माछा र बंगुरलाई चारो हाल्न पनि जान नसकेको बताए ।

निलगाइलाई नियन्त्रणमा लिएर लैजान वन कार्यालयको डिएफओलाई बारम्बार आग्रह गरेपनि वास्ता नगरेको पीडित किसान लिम्बूको भनाइ छ । निलगाई फर्ममा आएपछि घाँस काट्न पनि जानसक्ने अवस्था नभएको उनले सुनाए । घर पालुवा जनवारहरुलाई दैनिक घाँस दिनुपर्ने भएपनि त्रासको कारणले निलगाइ आएदेखि घाँस पनि काटन जानसक्ने अवस्था नरहेको उनले बताए ।
निलगाईलाई फर्मदेखि धपाउने अनुमति माग्दा पनि प्रशासनले नदिएको लिम्बूले गुनासो गरेका छन् । ‘कुनै उपाय गरेर धपाउँछौं भन्दा पनि अनुमति दिएको छैन’ उनले भने, ‘धपाउँदा बस्तीमा पसेर क्षति गरो भने कसले जिम्मा लिन्छ भन्दै वन कार्यालय र प्रशासन पन्छिएको उनको भनाइ छ ।

यसअघि विराटनगर विमानस्थलमा रहेका निलगाई स्थान्तरण गर्न टोली आएको सुनेपछि उनले पनि सो टोलीलाई खबर गरेका थिए । टोलीले विमानस्थल आसपासका निलगाईलाई उद्धार गरेर उनको फर्ममा भएको निलगाई पनि लैजान पुगेको थियो । ‘तर, अन्तिम अवस्थामा ट्रकसहित निलगाई लिन आएको टोली खै किन हो रित्तै फर्कियो’ उनले सुनाए ।

निलगाइले आतंक मच्याएपछि लिम्बूको बगैचामा राष्ट्रिय निकुञ्ज तथा बन्यजुन्तु आरक्षण विभागका टोली केही दिन अगाडि पुगेको थियो । टोलीले विराटनगरको एयरपोर्ड भित्रदेखि दुई वटा निलगाइ उद्धार गरेर लगेको थियो । डिभिजन वन कार्यालय सुनसरी प्रमुख दानबहादुर श्रेष्ठका अनुसार फर्ममा रहेको निलगाइलाई उद्धारको लागि पायक नपरेकोले टोली फर्किएको थियो ।

फार्मको दुईतिर पोखरी रहेकोले उद्धारमा समस्या भएको जानकारी विभागदेखि आएको टोलीले दिएको श्रेष्ठको भनाइ छ । पोखरीको पानी घटेपछि मात्र विभागको टोलीले निलगाइ उद्धार गर्ने उनले बताए ।

बुधबार, २३ भदौ, २०७८, दिउँसोको ०१:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर