विराटनगर । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सरकारले संशोधन गर्ने तयारी गरेको छ। यसका लागि प्रतिस्थापन विधेयक तयार भइसकेको छ।
संसदको बैठक बस्नासाथ विधेयक पेस गर्ने तयारी अर्थ मन्त्रालयले गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते बुधबारका लागि संघीय संसदका दुवै सदनका अधिवेशन आह्वान गरिसकेकी छन्।
संसद बैठक सुरु हुनेबित्तिकै अध्यादेशमार्फत आएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेस गर्ने तयारी अर्थ मन्त्रालयले गरेको हो।
सोही विधेयकमार्फत अर्थमन्त्रालयले बजेट संशोधनको बाटो अपनाएको हो। संविधानले नै संघीय बजेट जेठ १५ मा ल्याउनुपर्ने प्रावधान राखेको छ। तर सो समयमा संसद नभएकोले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याएका थिए।
बजेट ल्याइसकेपछि नयाँ सकार बन्यो। यो सरकारले अध्यादेशलाई खारेजको प्रक्रियामा नलगि संसदमा पेस गरेको छ।
विष्णु पौडेलले ल्याएको बजेट कार्यन्वयन नगर्न यो सरकारलाई संशोधनको विकल्प थियो। संसदमा पेस भएको बजेट संशोधन गर्न यो सरकारलाई संसदमा बहुमत चाहिन्छ।
एमाले संशोधनका पक्षमा नरहने आकलनका साथ संशोधन प्रक्रिया ढिलाइ भइरहेको थियो।
गठबन्धनको सरकार बनेको र एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टीसमेत बनेकाले बजेट संशोधन गर्न सरकारको आत्मबल बढेको हो।
सोहीअनुसार अहिले संसद बैठक सुरु हुनेबित्तिकै प्रतिस्थापन विधेयक संसदमा पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच पनि छलफल भइरहेको छ।