विराटनगरमा धमाधम खुल्दैछन् ‘क्याफे हाउस’

पछिल्लो स्टार्टअप बिजनेशमा सरकारले पनि सहयोग गर्न थालेपछि विभिन्न व्यवसायमा युवाहरुको आकर्षण बढ्दो छ

विराटनगर । कोरोना महामारीले होटल व्यवसाय थलिएकै बेला विराटनगरमा भने ‘क्याफे हाउस’ मा धमाधम लगानी थपिँदै गएको छ ।

युवा व्यवसायीहरुको आकर्षणले क्याफे हाउसमा लगानी थपिँदा संख्या पनि बढ्दै गएको छ । प्रदेश १ को राजधानी विराटनगरमा मात्रै पछिल्लो ४ महिनामा बैठक हाउस, माटिना क्याफे एण्ड ब्याकयार्ड, ससुराली क्याफे एण्ड रेष्ट्रो र मिट प्वाईन्ट गरि ४ अत्याधुनिक क्याफे हाउसहरु सञ्चालनमा आएका छन् । यी क्याफेहरुमा मात्रै झण्डै १ करोडको लगानी छ ।

विराटनगरमा हालसालै सञ्चालनमा आएको पहिलो क्याफे हो, बैठक हाउस । भदौ १ गतेदेखि सञ्चालनमा आएको यो क्याफेमा विराटनगरकै ३ युवाहरुको संयुक्त लगानी छ । पठनपाठन सँगसँगै राजनीतिमासमेत सक्रिय २४ वर्षीय निर्मल भण्डारी, २७ वर्षीय शिवरतन शाह र २२ वर्षीय अमर मण्डलले क्याफे हाउस सञ्चालनमा ल्याएका हुन् । विराटनगर–३ स्थित वन कार्यालय छेउमा अवस्थित क्याफेमा उनीहरुले कुल १५ लाखको संयुक्त लगानी गरेका छन् । डेकोरेशन र अन्य इन्टिेरियर डिजाइनलगायतका कार्यहरु अझै बाँकी रहेकाले लगानी २० लाखसम्म पुग्न सक्ने बैठक हाउसका सञ्चालक निर्मल भण्डारीले बताए । उनले कोभिड महामारीको जोखिम अझै कम नभएकाले चाँडै अनलाइन सेवासमेत थाल्ने तयारी रहेको जानकारी दिए । १५ दिनभित्र अनलाइन सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

विराटनगरमा इन्डियन र चाइनिज फास्टफुडको स्वाद दिन साउन अन्तिम सातादेखि सञ्चालनमा आएको अर्को क्याफे हाउस हो, माटिना क्याफे एण्ड ब्याकयार्ड । कूल ७ लाखको लगानीमा २३ बर्षीय दुई युवाहरुद्धारा सञ्चालित यो क्याफे हाउस विराटनगरको तिनपैनी चोकमा छ । धर्मेश ताजपुरिया र योगेश खवास माटिना क्याफेका सञ्चालक हुन् । ३ वर्षअघि सेन्ट्रल मलको स्थापनासँगै उनीहरुले क्याफे हाउस सञ्चालनको अवधारणा अघि सारेका थिए । तर, कोभिड महामारीका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको माटिना क्याफेका सञ्चालक धर्मेश ताजपुरियाले बताए । उनले साउन २९ गतेदेखि सञ्चालनमा आएको माटिना क्याफेमा हाल ग्राहकको भौतिक उपस्थित कम भएपनि अनलाइन सेवा प्रभावकारी बन्दै गएको जानकारी दिए । ‘क्याफेमा ग्राहकहरुको फिजिकल रेस्पोन्स कम छ । कोभिडले गर्दा पनि होला,’ उनले भने, ‘तर, फेसबुक पेज मार्फतको रेस्पोन्स राम्रो छ । हामीले २ महिना अघिदेखि माटिना क्याफेको फेसबुक पेज सञ्चालनमा ल्याएका थियौं ।’

हाल क्याफेमा ग्राहकहरु कमै आए पनि अनलाइन सेवाले उनीहरुको व्यवसाय धानिरहेको छ । अनलाइन सेवालाई उनीहरुले ब्याकअपको रुपमा लिएका छन् । भविष्यमा पनि अनलाइन प्रणालीलाई विस्तार गर्ने उनीहरुको योजना छ । त्यसका लागि माटिना अनडट डेलिभरी सर्भिसको तयारी समेत भइरहेको माटिना क्याफेका अर्का सञ्चालक योगेश खवासले बताए । विराटनगर बासीलाई इन्डियन फुडको स्वाद दिन सोमबार मात्रै माटिना क्याफेले फेसबुक पेज मार्फत रोयल रसोई सञ्चालनमा ल्याएको छ । कोरोनाको समयमा पनि दैनिक ७ हजार बराबरको कारोबार भइरहेको उनीहरुले बताएका छन् ।

यस्तै युनिक नाम र फरक अवधारणासहित असार अन्तिम सातादेखि विराटनगर–७ स्थित हनुमानदास रोड नजिकै ससुराली क्याफे सञ्चालनमा आयो । ४० लाखको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त क्याफेले महिना दिन नबित्दै राम्रो चर्चा बटुल्यो । युनिक नामले गर्दा युवाहरुले ससुराली क्याफेलाई रुचाए । हाल विराटनगरमा सञ्चालित अन्य सबै क्याफे हाउसको तुलनामा सबैभन्दा बढी ग्राहकहरुको भीड हुने ठाउँ हो, ‘ससुराली क्याफे’ ।

विराटनगर–४ का ३० बर्षीय सुमन मंग्राती र ५५ बर्षीय रञ्जित अग्रवालले असार २५ गतेदेखि उक्त क्याफे हाउस सञ्चालनमा ल्याएका हुन् । करिब १ कठ्ठा क्षेत्रफलमा सञ्चालित उक्त क्याफे हाउस ‘बबल टी र सेलरोटी तथा रायता सहितको ससुराली खाजा’ का लागि प्रख्यात छ । नामकै कारण उक्त क्याफे हाउसप्रति युवाहरुको आकर्षण बेग्लै छ ।

विशेषगरि अन्तरजातीय विवाह गरेका वडा नंं. ४ निवासी सुमन मंग्रातीले आफ्नै परिवारमा जातीय विभेदको सामना गर्नु परेपछि उक्त क्याफेको नाम ससुराली क्याफे राखेका हुन् । २०७१ सालमा उनले खतिवडा थर भएकी युवतीसँग वैवाहिक लगनगाँठो कसे । तर ससुराली पक्षले अपनाएनन् । पछि लामो समयसम्म आफ्नै ससुराली जान नपाएपछि लकडाउन अवधिमै उनले क्याफे हाउस सञ्चालन गर्ने र क्याफे हाउसको नाम ससुराली क्याफे राख्ने अवधारणा अघि सारेका हुन् ।

यो क्याफे हाउसमा पिज्जा, बर्र्गर, मःम, चाउमिन, चिया, कफी र चिली आईटम, कट्टी रोल लगायत फास्ट फुडका विभिन्न आइटम उपलब्ध छ । क्याफेले ३ कुकसहित ११ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सञ्चालक सुमन मंग्रातीका अनुसार बैकिङ क्षेत्रका कर्मचारी र मध्यम वर्गीय परिवारलाई लक्षित गरेर उक्त क्याफे सञ्चालनमा ल्याइएको बताए । ‘ठुलो होटलमा जाउँ महङ्गो पर्छ । सानो होटेलमा जाउँ चित्त बुझ्दैन,’ उनले भने, ‘यो अवस्थालाई चिर्न क्याफे सञ्चालनमा ल्याएका हौं ।’

विराटनगर–३ का अश्विन कार्की २१ वर्षका भए । हाल उनी विराटनगर–५ स्थित ब्राईट भिजन ल कलेजमा कानुन विषय े अध्ययन गर्छन् । उनी प्रथम वर्षमा छन् । बुबा खडग कार्कीको ट्रान्सपोर्ट सम्बन्धी आफ्नै व्यवसाय छ । पोखरिया स्कुल उत्तर उनको आफ्नै दुईतले घर छ । माथिल्लो तलामा बस्छन् । भुँई तलामा क्याफे चलाउँछन् ।

२०७७ चैत्र १३ गतेदेखि २२ लाखको एकल लगानीमा उनले सञ्चालनमा ल्याएको क्याफे हो, ‘मीट प्वाईन्ट’ । विभिन्न परिकारका फास्टफुड, मटका चिया, बर्गर र कट्टी रोल यहाँको स्पेशल आइटम हो । उक्त एरियामा कतै पनि क्याफे हाउसहरु सञ्चालनमा नरहेको तथा फास्टफुड खानका लागि बजार नै पुग्नुपर्ने आवश्यकतालाई महशुस गर्दै उनले मिट प्वाइन्ट सञ्चालनमा ल्याएका हुन् । हाल उक्त क्याफेमा ग्राहकको भीड थामिनसक्नु हुन्छ । क्याफेमा २ जना कुक र २ जना हेल्परसहित ७ जना कार्यरत छन् । यद्यपि ग्राहकको चापले उनीहरुलाई पनि भ्याईनभ्याई हुन्छ । ग्राहकको चाप र मागलाई मध्यनजर गर्दै उनी हाल माथिल्लो तल्लामा पनि क्याफे विस्तार गर्ने योजनामा छन् । यसका लागि उनकोे सहयोगी बनेका छन उनका बुबा खडग कार्की । पारिवारिक सपोर्टले हाल क्याफे हाउसको व्यावसाय राम्ररी फस्टाएको उनी सुनाउँछन् । ‘स्टार्टअप बिजनेशको रुपमा सुरु गरेको थिएँ । यति मार्केट लिन्छ भनेर कल्पनै गरेको थिइनँ,’ उनी भन्छन्, ‘अब माथिल्लो तलामा पनि थप ३०÷३५ लाख लगानी गरेर क्याफे विस्तार गर्छु ।’

पछिल्लो स्टार्टअप बिजनेशमा सरकारले पनि सहयोग गर्न थालेपछि विभिन्न व्यवसायमा युवाहरुको आकर्षण बढ्दो छ । भोलिका दिनमा उद्यमशील हुन चाहने युवाहरुका लागि सरकारले न्यून ब्याजदरमा कर्जा र पुर्नकर्जाको प्याकेजसमेत ल्याउन आवश्यक रहेको उनीहरुले बताएका छन् ।

आइतबार, १३ भदौ, २०७८, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर