विराटनगर । इच्छाशक्ति र लगनशीलता नै समृद्धि र सफलताको आधार हो भन्ने भनाइको पर्याय सुनसरीको इटहरीको एक घले परिवार बनेको छ ।
लामो समय भारतीय सेनामा जागिर खाएर नेपाल फर्किएका ३८ वर्षीय मनबहादुर, उनका ४० वर्षीय दाजु कृष्णकुमार र ५७ वर्षीय काका कृपाश्वर घले गुरुङले यसको पुष्टि गरेका हुन् ।
लामो समय भारतीय सेनामा जागिर खाएर नेपाल फर्किएका दुुई दाजुभाई मनबहादुर र कृष्णकुमार तथा काका कृपाश्वर सुनसरीको ईटहरी–२० मा बस्छन् ।
भारतीय सेनामा दाजुभाईले १७ वर्ष र काकाले २८ वर्ष काम गरेका थिए । दाजुभाई २०७५ मा असारमा र काका २०७१ वैशाखमा सेवानिवृत्त भएर नेपाल फर्किएपछि कागती र ड्रागन फ्रुटको खेतीमा लागेका छन् ।
चार वर्षअघि कागती खेतीबाट कृषिकर्म सुरु गरेका उनीहरुले हाल ड्रागन फ्रुटको खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । करिब ८ लाख रुपैयाँको लगानीसहित १५ कठ्ठा जग्गामा उनीहरुले कागती लगाएका थिए । तर, कागतीले खासै सफलता दिएन । उल्टै लगानी, परिश्रम र समयसमेत खेर गयो ।
असफलता नै सफलताको पहिलो सिंढी हो भन्ने भनाइलाई आत्मसात गर्दै फरक विकल्प खोजीका क्रममा उनीहरूले ड्रागन फ्रुटको बारेमा थाहा पाए । बुझ्दै जाँदा समाजमा ड्रागन फ्रुटको माग र यसप्र्रतिको बढ्दो आकर्षणका बारेमा बुझेपछि एक वर्षदेखि सुनसरीको रामधुनी–७ स्थित रानीपोखरीमा डेढ बिगाहा क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् ।
उनीहरुले १ हजार ८ सय पोलमा पिलरमा ड्रागन फ्रुट लगाएका थिए । पहिलो सिजनको उत्पादन गाउँघर र स्थानीयस्तरमै बेचेका प्रतिकेजी ७ सय रुपैयाँ लिएका छन् । फ्रुटको बिरुवा भने २ सय रुपैयाँ प्रतिगोटाका दरले बिक्री भइरहेको छ । बजारमा ड्रागन फ्रुट र विरुवाको समेत माग उच्च रहेको कृृष्णकुमार घले गुुरुङले बताउँछन् ।
‘पछिल्लो समय नेपालमा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थालेपछि अन्य कृषक र आम नागरिकमा पनि यसप्रतिको आकर्षण र माग बेग्लै छ,’ उनले भने, ‘नयाँपन, बजारको अभाव नहुने तथा जस्तोसुकै माटोमा पनि फल्ने भएका कारण नेपालमा ड्रागन फ्रुट उत्पादन गर्ने किसान पनि प्रशस्तै छन् ।’ ड्रागन फ्रुटको खेतीकै कारण सुनसरीमा राम्रो छाप छोडन् सफल यी तीन पूर्व लाहुरेलाई हिजोआज उक्त खेतीको विषयमा ज्ञान, सीप र बिरुवा बाँड्न भ्याइनभ्याइ छ ।
ड्रागनको फल तथा बिरुवाका लागि उनीहरूलाई पूर्वमा इलामदेखि पश्चिममा दाङसम्मका किसानहरुले सम्झिन्छन् । उनीहरुले पनि झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनकुटा, काठमाण्डौं, पोखरा, धादिङ र स्याङजा लगायतका जिल्लाहरुमा समेत ड्रागन फ्रुट र यसको बिरुवाको माग आपुर्ति गर्दै आएका छन् ।
पछिल्लो डेढ वर्षमा उनीहरुले ड्रागन फ्रुटको ४० हजारभन्दा बढी बिरुवा बिक्री गरिसकेका छन् । भारतमा सेनाको जागिर खाँदै गर्दा सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको १ बिगाहा जग्गाको सदुपयोग गर्ने मनसायका साथ कागती खेतीबाट उनीहरुले कृषिकर्मको सुरुवात गरेका थिए । पछि दाजुभाईको कागती खेती परियोजनामा काका कृपाश्वर पनि मिसिए ।
कृष्ण र मनबहादुरले ड्रागन फ्रुटको खेतीसँगै बङ्गुर पालनसमेत गरिरहेका छन् । २५ वटा भुनी र एउटा वीर किनेका उनीहरूले ३५ लाखको लगानीमा एक बिगाहामा ड्रागन खेती र बङ्गुरपालन व्यवसाय सँगसँगै अघि बढाएका छन् ।
कागती खेती असफल हुँदै गर्दा मनबहादुर युटुबमा ड्रागन फ्रुटको विषयमा राखिएका भिडियोहरू खुबै हेर्थे । उनले प्रत्यक्ष रूपमा तालिम लिएका थिएनन्, यसबारेमा सामान्यतया जानकार पनि थिएनन् । उनले युट्युबबाट प्राप्त ज्ञान व्यवहारमा परिणत गरे, जसको खुड्किला टेकेर आज सफलताको सिँढी उक्लिरहेका छन् ।
सुनसरीमै पहिलो पटक ड्रागन फ्रुट भित्र्याएर उत्कृष्ट ठहरिएका ५४ वर्षीय कृपाश्वरलाई जिल्ला कृषि ज्ञान केन्द्रले ७ लाख रुपैयाँ अनुदानसमेत दिएको छ । प्रदेश १ सरकारसँगको समन्वयमा ज्ञान केन्द्रले उनलाई व्यावसाय विस्तारका लागि सो अनुदान दिएको हो ।
प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले कृपाश्वरको फर्मलाई नमुना फर्मका रूपमा अनुदान प्रदान गरिएको बताए । उनले जिल्लागत विवरण नआए पनि प्रदेशभित्रका उत्कृष्ट केही किसानले अनुदान पाएको जानकारी दिए । ड्रागन फ्रुट भने ओसिलो र ३५ देखि ३६ डिग्री तापमान भएको ठाउँमा फस्टाउन सक्ने बिरुवा हो । वैशाखमा फूल फुल्ने क्रम सुरु भएपछि मंसिरसम्म यसको फल खान पाइन्छ ।