कोरोना कहरको मार : सिनेमा हलको करोडौं लगानी जोखिममा

विराटनगर । कोभिड महामारी र अनलाईन प्ल्याटफर्म तर्फ दर्शकको बढ्दो आकर्षणका कारण ठुला लगानीका सिनेमा हलहरुको अस्तित्व संकटग्रस्त अवस्थामा पुगेका छन् ।

सिनेमा हल सञ्चालनमा सरकारको प्रतिबन्धका कारण उच्च प्रविधियुक्त मल्टिप्लेक्सहरुको भबिष्य अनिश्चित बन्दै गएको हो । महामारीका कारण करोडौंको लगानी सहित सञ्चालनमा आएका मल्टिप्लेक्सहरु आर्थिक संकटमा पर्दै गएका हुन् । एमेजोन प्राईम भिडियो, नेटफ्लिक्स, आईफ्लिक्स, हटस्टार, जी फाईभ र नेट टिभी जस्ता अनलाईन प्लाटफर्म तर्फ दर्शकको बढ्दो आर्कषणले पनि ठुला लगानीका सिनेमा हलहरुको अस्तित्व ओझेलमा पर्दै गएको सिनेमा हलका सञ्चालकहरुले बताएका छन् । सरकारले सिनेमा हल सञ्चालनको अनुमति नदिएपछि यसक्षेत्रको ठुलोे लगानी डुब्नसक्ने जोखिम समेत उच्च भएको उनीहरुको भनाई छ ।

कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी २०७६ चैत्र ११ गतेको देशव्यापी लकडाउन पश्चात सरकारले सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । २०७७ को फाल्गुुण मसान्ततिर संक्रमणको जोखिम केही हदसम्म न्युनीकरण भएसँगै आवश्यक स्वास्थ्य सर्तकताका साथ हलहरु सञ्चालनमा आएका थिए । तर, महिनादिन नबित्दै संक्रमण दर पुनः बढन थालेपछि सरकारी निर्देशन बमोजिम बन्द भएका मल्टिप्लेक्स र अन्य सिनेमा हलहरु हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । यसले सिनेमा हलहरु अभुतपुर्व जोखिममा फस्दै गएको सञ्चालकहरुले जानकारी दिएका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै ३ उच्च स्तरीय मल्टिप्लेक्स र ३ परम्परागत प्रविधिमा आधारित हल गरि कुल ६ वटा सिनेमा घरहरु सञ्चालनमा छन् । तर विगत २ वर्षयता यी हलहरु पनि पुर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पुराना हलहरु बन्द हुने अवस्थामै पुगेका छन् । नयाँ सञ्चालनमा आएका हलहरुको अस्तित्व पनि ओझेलमा पर्न थालेको छ ।

विराटनगरमा २०७४ जेठदेखि तिनपैनी चौकस्थित सिटी सिनेमा, २०७५ मंसिरदेखि मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्स र २०७६ मंसिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा क्यु.एफ.एक्स मल्टिप्लेक्स सञ्चालनमा आएको थियो । पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका यी ३ मल्टिप्लेक्सहरुमा मात्रै कुल ३८ करोडको लगानी छ । तर, अन्य ९० प्रतिशत सेवाका क्षेत्रहरु खुलिसकेपनि सिनेमा हल सञ्चालनको सवालमा भने सरकारी तदारुकताको अभावमा हलहरु अभुतपूर्व जोखिममा पर्दै गएको विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्सका प्रबन्धक रमेश झाले बताए । उनले बैंकको चर्को ब्याज, ऋणको भार, कर्मचारीको तलब र मुल्यह्रास लगायतका कारणले सिनेमा हलहरुको अवस्था दयनीय बनेको जानकारी दिए । ‘अन्य सबै क्षेत्रहरु सञ्चालनमा आईसकेका छन् । कुनैबेला कोरोना संक्रमणको हटस्पट बनेको भारतमा पनि हलहरु सञ्चालन भईरहेका छन,’ उनले भने, ‘तर, यता अझै पनि हल सञ्चालनको अनुमति छैन् । हामीलाई पनि सञ्चालनको अनुमति दिनुपर्‍यो ।’

विराटनगरमा पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका ३ मल्टिप्लेक्सहरु मात्रै कुल १ हजार दर्शक अटाउनसक्ने क्षमताका छन् । यसबाहेकका हिमालय, अरुण र बाबा सिनेमा हलमा पनि झण्डै २ हजार दर्शक अटाउन सक्ने क्षमता छ । तर, महामारीको जोखिमलाई दृष्टिगत गर्दै सञ्चालकहरु भने आधा क्षमतामा पनि हल सञ्चालन गर्न तयार छन् ।

नेपाली सिनेमा हल तथा मल्टिप्लेक्सहरु भारतीय चलचित्रप्रति निर्भर रहेकाले बैंकटेश इम्पोटर्स, डिजिटल सिनेमा नेटवर्क, एफ.डी कम्पनी र टी–फोलिक लगायतका चलचित्र वितरकहरु पनि भारतबाट चलचित्र ल्याउन तयार छन् । तर यसका लागि सरकारले नै आधिकारिक रुपमा सिनेमा हल सञ्चालनको अनुमति दिनुपर्ने विराटनगरस्थित सिटी सिनेमाका जेनेरल म्यानेजर शंकर मेहताले बताए । उनले सरकारद्धारा हल सञ्चालनको अनुमति, यसक्षेत्रका लागि ठुलो राहत हुने जानकारी दिए । ‘सरकारले अनुमति दिए यसक्षेत्रको बढ्दो व्यापार घाटा न्युनीकरणमा सघाउ पुग्छ,’ उनले भने, ‘सिनेमा हलहरु पनि पुर्नजिवित हुन्छन् ।’

पहिलो चरणको महामारी पश्चात पनि मल्टिप्लेक्सहरु आवश्यक स्वास्थ्य सर्तकताका साथ सञ्चालनमा आएका थिए । क्षमताभन्दा आधा दर्शक राखेर हल सञ्चालन गरिएको थियो । टिकट काउण्टरमा दर्शकको भीड न्युनीकरण गर्न टिकट खरिद समेत अनलाईन प्रणालीमा केन्द्रिकृत गरिएको थियो । तर, महामारी रोकथाम तथा न्युनीकरणका लागि पछिल्लो समयको लकडाउन र निषेधाज्ञामा अनलाईन प्ल्याटफर्म तर्फ आम नागरिकको आकषर्णका कारण यसपटक सिनेमा हलहरुमा स्वतः दर्शकको फ्लो कम हुने सञ्चालकहरुको बिश्लेषण छ । भोलिका दिनमा थोरबहुत दर्शकहरु, त्यो पनि मुवी टेस्टका लागी मात्रै सिनेमा हल आउने भएकाले सरकारले पनि हल सञ्चालनको अनुमति दिनुपर्ने विराटनगरस्थित क्यु.एफ.एक्सका अपरेशन म्यानेजर राजन मगरले बताए । ‘पछिल्लो समय महामारीबाट जोगिन घरै बसेर अनलाईन मार्फत चलचित्र हेर्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ । यसले भोलिका दिनमा हलहरुमा दर्शकको फ्लो पहिले जस्तो नहुने देखिन्छ, उनले भने, ‘तर, भ्याक्सिनेसन पश्चात भने दर्शकको फ्लो पुनः बढन थाल्छ भन्ने अपेक्षा छ ।’

आम्दानी शून्य, खर्च लाखौं

पछिल्लो ५ वर्षयता विराटनगरमा उच्च प्रविधियुक्त सिटी सिनेमा, सेन्ट्रल मल्टिप्लेक्स र क्यू.एफ.एक्स गरि ठुला लगानीका ३ सिनेमा हलहरु सञ्चालनमा आईसकेका छन् ।

तर, सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिट, डेप्थ क्यु प्रविद्यि, डोल्बि एटमस साउण्ड सिस्टम तथा टु डी र थ्री डी स्क्रिन लगायतका बिशेषता सहित सञ्चालनमा आएका यी हलहरुले भने हाल चरम आर्थिक संकटको सामना गर्नुपरेको छ । आम्दानी शून्य भएको बेला आन्तरिक व्यवस्थापन बापत यी हलहरुले मासिक रुपमा करिब ३० लाख रुँपैया खर्च व्यहोर्नु परेको छ ।

आम्दानी अठन्नी भएपनि बिजुली बत्ती, कर्मचारी व्यवस्थापन र भाडा बापत नै मासिक साढे ७ लाख रुँपैयाभन्दा बढी खर्च हुने गरेको विराटनगरको तिनपैनी चौकस्थित सिटी सिनेमाका जेनेरल म्यानेजर शंकर मेहताले बताए । उनले हल सञ्चालनमा नभएपनि सुरक्षा, सरसफाई र मेन्टेनेन्सका लागी ६ जना कर्मचारी खटाउनुपरेको जानकारी दिए । उनले भने, ‘हामीेले हाम्रा कर्मचारीलाई पुरा तलब दिएर राखेका छौं । बिजुली खपत नभए पनि न्युनतम डिमाण्ड शुल्क तिर्नैपर्छ ।’

कोभिडका कारण सिङ्गल हल सञ्चालकहरुको अवस्था पनि उस्तै छ । पुरम्परागत पद्धतिमा हल चलाउनेमध्ये धेरैको आफ्नै भवन भएकाले भाडा तिर्नुपर्दैन । तर, भाडाकै घरजग्गामा चलिरहेकाहरु थप समस्यामा छन् ।

विराटनगरकै मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्सको व्यवस्थापन खर्च पनि करिब १४ देखि १५ लाख रुँपैया मासिक छ । रेखदेख, विद्युत महशुल, कर्मचारीको तलब र बैंकको ब्याज लगायतको खर्च व्यवस्थापनमै मासिक १५ लाख खर्च हुन्छ । तर हल सञ्चालनमा सरकारको भुमिका नगन्य छ । ‘सरकारले हामीलाई विलासी सेवा र सुविधाको सूचीमा राखेर व्यवहार गरेको छ,’ मल्टिप्लेक्सका म्यानेजर रमेश झाले भने, ‘सरकारको रवैया यस्तै रहे यो व्यवसाय पनि डुब्ने र धेरै लगानीकर्ता पलायन हुने अवस्था आउँछ ।’

९० प्रतिशत सेवाका क्षेत्र सञ्चालनमा, सिनेमा हलमा मात्र सरकारी प्रतिबन्ध

कोभिडका कारण पछिल्लो समय बन्द गरिएका अधिकांश सेवा क्षेत्रहरु सञ्चालनमा आईसकेपनि सिनेमा हल भने अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । सरकारी प्रतिबन्धका कारण हलहरु सञ्चालनमा नआएका हुन् ।

कोभिडको बढ्दो संक्रमण दरलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले प्रतिबन्धित अन्य सेवाका क्षेत्रहरुलाई आवश्यक मापदण्ड सहित सञ्चालनको अनुमति दिए पनि सिनेमा हल सञ्चालनको अनुमति भने दिएको छैन् । सिनेमा हलमा हुने दर्शकको भीडले संक्रमण दर झनै बढ्नसक्ने भएकाले सञ्चालनको अनुमति नदिईएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । उनले कोरोना संक्रमण दर पुर्णतः न्युनीकरण भएपछि मात्र हल सञ्चालनको अनुमति दिईने जानकारी दिए । ‘आम नागरिक अझै सचेत हुन सकेका छैनन । मास्क बिनै बजार घुमिरहेका छन्,’ उनले भने, ‘आम नागरिकको संवेदनहीनताकै कारण अझै पनि विभिन्न सेवाका क्षेत्रहरु प्रतिबन्धित छन् ।’

हाल प्रशासनले बढी भिडभाड हुने गुद्री तथा हाटबजार, सब्जीमण्डी, पार्टी प्यालेस, स्विमिङ पुल, फुटसल, रङ्गशाला, कभर्ड हल र विद्यालय तथा क्याम्पसहरुको सञ्चालनमा प्रतिबन्ध लगाएको छ । तर, अधिकांश प्रतिबन्धित सेवा क्षेत्रहरु प्रशासनकै सामुन्ने सञ्चालन हुँदै आएका छन् । प्रशासनले आफ्नै उर्दीको अपहेलना गर्दै विभिन्न सरकारी सभा–समारोह र सामाजिक गतिविधिमा संलग्न रहँदै आएको छ ।

रोजगारी गुम्यो

कोरोना महामारी अघि विराटनगरमा सञ्चालित यी ३ मल्टिप्लेक्सहरुमा मात्रै १ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका थिए । एउटै मल्टिप्लेक्समा ४० देखि ४५ सम्म कार्यरत थिए । तर २०७६ चैत्र ५ गतेको सरकारी निर्णय बमोजिम हलसहित भीडभाड हुने सबै क्षेत्र बन्द भएसँगै चलचित्र क्षेत्रका अधिकांशले रोजगारी गुमाए ।

सिटी सिनेमाका जेनेरल म्यानेजर शंकर मेहता सार्वजनिक यातायातदेखि हवाईसेवा समेत मापदण्ड अपनाएर खुल्न दिएको अवस्थामा सरकारले सिनेमा हललाई मात्र असुरक्षित देख्नु विडम्बनाकै विषय भएको बताउँछन् । उनी भन्छन्, ‘५० प्रतिशत अक्युपेन्सीमा मात्रै सञ्चालन गर्न दिएपनि हुन्थ्यो ।’

सिनेमा हलहरु नचल्दा यस उद्योगसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका अन्य क्षेत्रहरु पनि समस्यामा छन् । यस्तो अवस्थामा हल सञ्चालनको वातावरण मिलाउन र हालसम्म पुगेको क्षति न्युनीकरणका लागि सरकारद्धारा छुट्टै राहत प्याकेजको व्यवस्था गर्न चलचित्र संघले समेत माग गर्दै आएको छ ।

बुधबार, ०२ भदौ, २०७८, बिहानको १०:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर