पाँचथर । पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङ र फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा सञ्चालित खानेपानी आयोजनाको कामले तीब्रता लिएको छ ।
यहाँ १ नम्बर प्रदेश सरकार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा विगत १ वर्षदेखि निभुखोलाको याङ्ना दोभानबाट लिफ्टिङमार्फत खानेपानी आयोजना संचालनमा रहेको छ ।
२०६५ सालबाट खानेपानीका मुहान सुक्न थालेपछि यहाँका स्थानीयले खानेपानीको चरम संकट झेल्दै आएका थिए ।
स्थानीय ८ सय ४४ घरपरिवारलाई पानी वितरण गरिने योजना रहेको आयोजनाका अध्यक्ष गगन लावतीको भनाइ छ । योजनामा प्रदेश सरकारको ३३ करोड रुपैयाँ लगानी रहेको छ। आयोजनाको काम तीन वर्षमा सक्नुपर्नेछ ।
‘तोकिएको समयभन्दा अगावै काम सम्पन्न हुने आयोजनाका सचिव रमेश आङ्देम्बे बताउँछन् । ‘कोरोना माहामरीका कारणले कामलाई धेरै असर पुर्याएको छ । तर पनि हामीले घर–घरमा मिटर जडानको काम गरिरहेका छौं,’ उनी भन्छ्न्, ‘अबको माहामारीले बिकराल रुप नलिए सात–आठ महिना भित्रै काम सम्पन्न हुनेछ ।’
आयोजनाका इन्जिनियर सुरतलाल चौधरीका अनुसार हालसम्म निभुखोलाको दोभानमा आयोजनाको ‘इन्टेक मेन ट्यांकी’ निर्माण सम्पन्न भएको छ । भने प्रस्तावित स्थानमा ‘आरभिटी ट्यांकी’ समेत निर्माण भएका छ्न् ।
फिदिम नगरपालिका–९ लुम्फाबुङका साविक २ र ३ नम्बर वडामा मिटर जडानको काम सम्पन्न भएको छ। नमिडाँडा र लुम्फाबुङका अन्य क्षेत्रमा भने मिटर जडानको काम सुरुवाती चरणमा रहेको छ ।