विराटनगर । बुढीगंगा गाउँपालिका–१ र विराटनगर महानगरपालिका १९ नम्बर जोड्ने पुष्पलाल चोकपूर्व सिंघीय खोलाको पुल जोखिममा परेको छ । केही दिनयता परेको वर्षाका कारण पुलको पश्चिम–दक्षिण पट्टिको भित्तो भत्किएको छ भने पुलको एक भाग धसिएको छ ।
पुलको मर्मतसम्भार नगरे वर्षायाममा भत्किनसक्ने सम्भावना रहेको विराटनगर १९ का स्थानीय टिका घिमिरेले बताए । ‘तत्काल यसको मर्मत नगरे, खोलामा एक झमट बाढी आउँदै भत्किन सक्ने देखिन्छ,’ उनले भने, ‘महानगरपालिका र प्रदेश सरकारले पुललाई तत्कालका लागि मर्मत गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।’
पुष्पलालचोकदेखि घिनाघाट हुँदै विराटचोक जोड्ने सडक चौडा (चारलेन निर्माण) को काम भइरहेको छ । सोही क्रममा नयाँ पुल निर्माण पनि हुनेछ । तर, त्यसअघि नै उक्त पुल भत्किने अवस्थामा पुगेको छ । विराटनगरबाट सोही पुल हुँदै सयौं सवारी साधन तथा सर्वसाधरण आवत जावत गर्दछन् । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभाका निवर्तमान सांसद अमनलाल मोदीले तत्काल पुल मर्मतका लागि आफूले पहल गरिरहेको बताए । ‘मैले आज मात्रै पुल मर्मतका लागि आवश्यक अनुगमन र पहल गर्नका लागि प्रदेशस्थित पूर्वाधार तथा भौतिक मन्त्रालयका सचिव मोहन कुमार शाक्यलाई जानकारी गराएको छु,’ उनले भने, ‘नगरपालिकालाई पनि आवश्यक पहल गर्न भनेको छु ।’