विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर महानगरपालिका ९ अस्पताल चोकमा रहेका दुई वटा फार्मेसी बन्द गराएको छ ।
सोमबार अनुगमनमा पुगेको टोलीले अस्पताल चोकमा रहेको दुई वटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए ।
अनुमगन टोलीले टाइम्स फर्मा र रियाङ्शी मेडिको बन्द गरेको हो । विभागको विराटनगरस्थित कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलका अर्कै व्यक्तिको लाइसेन्स रहेको फार्मेसी अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएपछि ती फार्मेसी बन्द गरिएको हो । सञ्चालकलाई कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
बोर्ड नराखिएको एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली पुग्नुअघि नै पसल बन्द गरेर फरार भएका थिए । अस्पताल चोकदेखि दक्षिणतर्फ जाने सडकमा रहेको फार्मेसी सञ्चालक शङ्कर यादव फरार भएका हुन् । बोर्ड नरहेको फार्मेसीका सञ्चालकले कन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएको पाइएको छ ।
औषधिका नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमनका लागि टोली पुग्दा यादव भागेका थिए । उनका अनुसार टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीबाट दर्ताविनाको सेनिटाइजर बरामद भएको छ ।
लाइसेन्सप्राप्त व्यक्तिबाहेक अरू नै पसलमा बस्दा औषधि सम्बन्धी जानकारी नहुने भएकोले त्यसमा कडाइ गरिएको कट्टेलले बताए । यस्तै सर्वसाधरणलाई महङ्गो शुल्कमा औषधी बिक्री गर्ने गरेको पनि पाइएको उनको भनाइ छ ।