विराटनगर । प्रांगरिक मलको कमीले गर्दा मोरङको खेतीयोग्य जमिनमा अम्लीयपन अधिक रहेको पाइएको छ । प्रांगरिकको साटो रासायनिक मलको अत्याधिक प्रयोगले मोरङको माटोमा अम्लीयपन अधिक पाइएको हो ।
अम्लीयपन अधिक रहदा अन्नबाली, फलफूल र तरकारीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वय इकाई मोरङले रतुवामाई नगरपालिकामा सोमबार आयोजना गरेको माटो परीक्षण शिविरमा गरेको परीक्षणको क्रममा मोटोमा अत्याधिक अम्लीयपन भेटिएको हो । माटो व्यवस्थापन निर्देशनालय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले रतुवामाई नगरपालिकाको ६, ७, ८, ९ र १० का १ सय ५ जना कृषकहरूको खेतको माटो परीक्षण गर्दा अधिकाशंमा कृषकको खेतको माटोमा अत्याधिक अम्लीयपन देखिएको माटोविज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो । ‘अन्नबाली उत्पादनमा ६ देखि ६.५ पिएच भएको राम्रो मानिन्छ,’ माटो विज्ञ यादवले भन्नुभयो ‘परीक्षण गरिएको माटो पिएच ३.८ देखि ४ सम्म मात्र पिएच भेटियो । यहाँका माटोमा अत्याधिक अम्लीयपन देखिएको छ । जसले गर्दा उत्पादनमा ह्रास आउने गर्दछ ।’
माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटोविज्ञ यादवले बताउनुभयो । प्राङ्गगारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भएकोले किसानले यसतर्फ चासो दिनुपर्ने उनले बताए ।
‘बोटबिरुवाबाट फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ’, माटोविज्ञ यादवले भन्नुभयो, ‘माटोको उर्वराशक्ति दिगो बनाइराख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’ माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाइ तटस्थमा ल्याउन सकिने उनको भनाइ छ । ‘प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो चेकजाँच गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ’, उनले भने ।
प्रांगारिक र कृषि चुनमा जोड दिनु आवश्यक: माटोविज्ञको सुझाव
माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाइ सन्तुलित बनाउन प्राङ्गारिक मल र कृषि चुनको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव छ । घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तहतह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरि सुक्ष्म जीवाणुका माध्यमबाट कुहाइ प्राङ्गारिक मल बनाउन सकिने माटोविज्ञ यादवले बताए । उनका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरि कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ ।
उनले प्राचीनकाल देखिनै यस मललाई त्यति महत्व नदिइएको र यसलाई जथाभावी राख्ने, यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सीप अभावका कारण नेपालले एकातिर वर्षेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अर्बाैं रुपैयाँ रासायानिक मल यूरिया मल खरिदमा विदेश गइरहेको बताए । उहाँले भन्नुभयो, ‘प्राङ्गारिक तरकारी खेतीमा गोठेमलको महत्व रहेकाले यसको सुधार गरेर प्रयोग गर्नु अति आवश्यक छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ मोरङका प्रमुख विनोदकुमार मण्डलले अम्लीयपन बढेको माटोमा आवश्यक पर्ने कृषि चुना परियोजनाले कृषकहरूलाई सहयोग गर्ने बताउनुभयो । ‘कृषकहरूलाई आवश्यक पर्ने कृषि चुना कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्नेछ,’ उनले भने ।