टिपरले ११ जनाको ज्यान लियो

विराटनगर । विराटनगर–१९ मिलनचौकमा मंगलबार राति टिपरले हजुरबुवा र नातिनीको ज्यान लियो । टिपरको ठक्करबाट मोरङ ग्रामथान गाउँपालिका २ का ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा मृत्यु भयो ।

घटनापछि स्थानीयले को १ ख २९१७ नम्बरको टिपरमा आगजनी गरि बुधबार दिनभरी प्रदर्शन गरेका थिए । स्थानीय र प्रशासनबीच चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ती दिने सहमति भएपछि अबरुद्ध सडक सुचारू भएको थियो ।

सोही सडकको सुन्दरहरैचा नगरपालिका– ९ मा गत वर्ष ट्रिपरले एक बालिकाको ज्यान लिएको थियो । सुन्दरहरैचाबाट विराटनगरतर्फ आएको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ११ वर्षीय लक्ष्मी ढकालको ज्यान लिएको घटनाभन्दा ३ महिना अगाडि उदयपुरकी एक महिलाको सुन्दरहरैचना २ मा मृत्यु भएको थियो । स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म टिपरले घिसारेपछि उदयपुरको रौतामाइ नगरपालिका–२ की ३५ वर्षीय गीता कटुवालको उपचारको क्रममा मृत्यु भएको थियो ।

गत मंसिर ५ गते सुन्दरहरैचा– ७ नेताचौक स्थित ट्रिपरकै ठक्करले ग्रामथानका ६१ वर्षीय मोती साह पनि टिपरको ठक्करबाट गम्भीर घाइते भए । विराटचौकबाट विराटनगरतर्फ आइरहेको ट्रिपरले ठक्कर दिँदा साह घाइते भएका हुन् । टिपरको ठक्करबाट भएका दुर्घटनाका यी पछिल्ला उदाहरण हुन् । यसअघि पनि यस्ता थुप्रै दुर्घटना भइसकेका छन् ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सनुसरीको तथ्याङ्गक अनुसार चालु आर्थिक वर्षको सात महिना टिपरको ठक्करबाट प्रदेश १ मा ११ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म टिपरको कारण २४ वटा सवारी दुर्घटना भएकोमा ११ जनाको मृत्यु र २६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको अभिलेख अनुसार सबैभन्दा बढी दुर्घटना मोरङमा भएको छ । चालु आवको माघसम्मको तथ्याङ्गक अनुसार मोरङमा ९ वटा दुर्घटनामा परि ७ जनाले ज्यान गुमाएका छन् भने ४ जना घाईते भएका छन् । जसमध्ये पनि मोरङको घिनाघाट–विराट चौक सडक खण्डमा सबैभन्दा बढी दुर्घटना हुने सडक खण्डमा पर्दछ । प्रदेशको सुनसरी, मोरङ, झापा सबैभन्दा बढी टिपर दुर्घटना हुन्छ ।

सुनसरीमा ४ वटा टिपर दुर्घटनामा ९ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । झापामा २ वटा टिपर दुर्घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।
गत आर्थिक वर्ष २०७५÷७६ मा ३४ वटा टिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको र ६० जना घाइते भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको माघसम्म प्रदेशमा ८ सय ५८ वटा सवारी दुर्घटनामा परि २ सय २२ जनाले ज्यान गुमाएका छन् । यस्तै ५ सय ६४ गम्भिर घाईते र ९ सय २६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको अभिललेखमा देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा सवारी दुर्घटनमा परि मृत्यु हुनेको संख्यामा कमी देखिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा १ हजार २ सय ७९ वटा र्दुघनामा भएकोमा ४ सय २४ जनाको मत्यु भएको थियो । गम्भिर घाइते ९ सय ७४ र सामान्य घाइते १ हजार ९८ जना भएका थिए ।

ट्राफिक प्रहरी टिपर चालक कम उमेरका हुने र जीर्ण सडकमा तीव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको छ । घिनाघाट–विराटचौक सडक चारनलेन सडक निर्माणको क्रममा सवारी चालकले लापरबाही गर्दा दुर्घटना हुने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख राकेश कुमार पोदारले बताउनुभयो ।

शुक्रबार, २३ फागुन, २०७६, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर