होम आईसोलेसन बसेको सिफारिसमा शुल्क नलिन महानगरको अर्को परिपत्र

विराटनगर । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा शुल्क नलिन विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले निर्देशन दिनुभएको छ ।

संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरले ५१० रुपैयाँ शुल्क लिन थालेको समाचार बाहिर आएपछि त्यस्तो शुल्क लिने काम बन्द गर्न निर्देशन दिएको पराजुलीले बताउनुभयो ।

संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्दा ५१० रुपैयाँ लिन थालिएको थियो । महानगरको ३ नम्बर वडामा धेरैले शुल्क तिरेर सिफारिस लिएका छन ।

महानगरले पछिल्लो पटक सबै वडा कार्यालयमा परिपत्र गरि शुल्क लिन भनेको थियो । तर, प्रमुख पराजुलीले भने त्यस्तो परिपत्र नभएको दाबी गर्दै शुल्क लिएका वडाहरुलाई शुल्क नलिन भनिसकेको बताउनुभयो । “होम आइसोलेसन बसेको सिफारिसमा शुल्क लिने कुनै निर्णय भएको छैन” प्रमुख पराजुलीले भन्नुभयो, “आफुखुसी केही वडाले शुल्क लिएको पाईएकोले बन्द गर्न निर्देशन गरिसकेका छौं ।”

महानगरको निर्देशनपछि पनि धेरै वडाले भने शुल्क उठाएका थिएनन । बिमा प्रयोजनाका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताउनुभएको थियो । नगर प्रमुख पराजुलीको निर्देशनपछि महानगरको बित्तीय महाशाखा प्रमुख प्रधानले बुधबार अर्को परिपत्र जारी गर्दै शुल्क नलिन पत्राचार गर्नुभएको छ ।

महानगरपालिकाले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेकोमा अब त्यो शुल्क नलिने जनाएको छ ।

बुधबार, १९ कार्तिक, २०७७, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर