मापदण्डविपरितको सेनिटाइजर बिक्री गर्नेलाई कार्वाही

विराटनगर । मापदण्ड विपरित सेनिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने उद्योगलाई नेपाल औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ ।

लकडाउन भएयतादेखि गुणस्तरहिन सेनिटाइजर उत्पादन गरि बिक्री गर्ने सुनसरीको नरसिंह गाउँपालिका ४ स्थित ‘सीता हर्बल क्यामिकल उद्योग’ लाई बिभागले कारवाही गरेको हो ।

सो उद्योगले मापदण्ड विपरितको ‘मिथानोल स्प्रीट’ हालेर सेनिटाइजर उत्पादन गरि बिक्री गरेको पाइएपछि कारवाही गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखाका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिनुभयो । हानिकारक बस्तु हालेर सेनिटाइजर उत्पादन गरेको पाइएपछि उद्योग बन्द गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

सिता हर्बलका सञ्चालक उमानन्द यादव हुन् । यादवको उद्योगले उत्पादन गरेको सेनिटाइजर मोरङ र सुनसरी पठाउने गरेको बताएका छन् । यादवको धरानमा ‘महाभगवती फार्मेसी’ पनि सञ्चालन गर्दै आएका थिए । गुणस्तरहिन सेनिटाइजर उत्पादन गरि आफ्नै फार्मेसी र अन्य विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

‘मापदण्ड विपरीतको सेनिटाइजर उत्पादन गरेको पाइएपछि महा भगवती फार्मेशीमा बिक्री वितरणमा राखिएको सेनिटाइजर बरमाद गरि ल्याएका छौं,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख शर्माले भन्नुभयो, ‘उत्पादन गरि बजारमा पाठएको अन्य सेनिटाइजर पनि बरामद गर्नेछौं ।’

मिथानोल प्रयोग गरेको सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्तिसहितको जरिवाना गर्नुका साथै उद्योग बन्द गर्ने तयारी गरेको विभागले गरेको छ ।

सो उद्योगले १ सय एमएल र एक मिलटरसम्मको सेनिटाइजर बनाएर बजारमा पठाउने गरेको थियो । बजारमा पठाएको मापदण्ड बिपरितका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भएको गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले बताउनुभयो ।

विभागले तोकेको मापदण्डमा सेनिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइदैन । ‘७० देखि ८० प्रतिशत इथानोल हालेर सेनिटाइज बनाउनुपर्ने हो,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘सीता हर्बल क्यामिकल उद्योगले ‘मिथानोल स्प्रीट’ मात्र बढी देखिएको छ । जुन छालामा असर गर्दछ ।’ बरामद गरेको सेनिटाइजर परीक्षणको लागि राष्ट्रिय औषधी प्रयोगशालामा पठाएको उहाँले जानकारी दिनुभयो ।

यस्तो छ, मापदण्ड
प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कन्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउन्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।

सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दार्का मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजरमा कुनैपनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम रहेको औषधी व्यवस्था विभागले जनाएको छ ।

मङ्गलबार, ३० भदौ, २०७७, दिउँसोको ०१:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर