विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु

विराटनगर । शौचालयमा लडेर घाइते भएकी मोरङको कानेपोखरीकी एक गर्भवती महिलाको विराटनगरका ७ वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएपछि मृत्यु भएको छ ।

मंगलबार राति शौचालयमा लडेकी ७ महिनाकी गर्भवती कानेपोखरी गाउँपालिका की २३ वर्षीया सविना थापा (दर्जी)को समयमा उपचार नपाएको कारण बिहीबार बिहान मृत्यु भएको हो ।

लडेपछि बाहिर चोटपटक नदेखिएपनि स्वास्थ्य अवस्था विग्रदै गएपछि बुधबार राति सविनालाई उपचारका लागि विराटनगर ल्याइएको थियो । तर, आफन्तले विराटनगरका सबै ठूला अस्पताल चाहारे पनि भर्ना पाएनन् । नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, सुरक्षा र कोशी अस्पतालले पनि उपचार गर्न नमानेपछि उनको अवस्था थप विग्रिएको थियो ।

विराटनगरका कुनैपनि अस्पताले उपचार गर्न नमानेपछि बिहीबार बिहान सविनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
प्रतिष्ठानमा उपचार सुरु गरेको केहि समयमै सविनाको मृत्यु भयो । समयमा अस्पताल नल्याएकोले मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको सविनाका श्रीमान भरत दर्जीको भनाइ छ ।

विराटनगरका अस्पतालले भर्ना लिन लिन नमानेकै कारण ७ महिनाकी गर्भवती श्रीमतीको मृत्यु भएको भन्दै भरतले दोषीलाई कार्वाहीको माग गर्नुभएको छ । लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु ज्यादती र चरम लापर्वाही भएको उहाँको गुनासो छ ।

एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल घुमाएपनि कसैले पनि उपचार गर्न नमानेको बरु हप्कीदप्की गरेको परिवारको भनाइ छ । अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको तथा कोरोना परीक्षण नगरेको भन्दै भर्ना गर्न नमानेको श्रीमान भरतले बताउनुभयो । श्रीमतीको उपचार गर्न आग्रह गर्दै धेरै डाक्टरको खुट्टा समाएर हारगुहार गर्दा पनि कसैले पनि वास्ता नगरेको उहाँको दुखेसो छ ।

प्रहरीका अनुसार उपचार नपाएर मृत्यु भएकी सविनाको शरीरमा बाहिरी चोटपटक भने खासै छैन । लडेर गर्भमा समस्या परेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। उनको मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ । पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान ४ वर्षकी छोरी छन्।

यसअघि गत भदौ १४ गते विराटनगरका निजी अस्पतालले उपचार गर्न नमान्दा भात सर्किएकी उदयपुरकी एक महिलाको मृत्यु भएको थियो । खाना सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगण्ढी–६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतको विराटनगरका कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि फर्काएर घर लगिएकोमा घरमै मृत्यु भएको थियो ।

यस्तै भदौ ११ गते मोरङको पथरीशनिश्चरे नगरपालिका– २ की ६२ वर्षीय सानकुमारी राईको पनि अस्पतालले भर्न नलिँदा उपचार नपाएर मृत्यु भएको थियो । एक्कासी पिसाब बन्द भएपछि झापाको बिएण्डसी अस्पताल बिर्तामोड हुँदै विराटनगरका सबै अस्पताल रातभर घुमाउँदा पनि भर्ना नपाएकी उनको कोशी अस्पतालमा भर्ना गरिएको केही समयमै मृत्यु भएको थियो ।

विरानगरका अस्पतालले उपचार गर्न नमानेको कारण भदौ महिनामा मात्र ४ जना विरामीको मृत्यु भइसकेको छ । यो अवस्था अन्त्य गर्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारबाही अघि बढाउने चेतावनी दिनुभएको थियो ।

प्रदेश सरकारले पनि विरामीको उचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिँदै आएको छ । तर, उस्तै घटना पुनः दोहोरिएको छ । कोरोनाले भन्दा पनि उपचार नपाएर अन्य विरामीले अकालमै ज्यान गुमाउनुपर्ने घटनाहरु बढिरहेका छन् ।

शुक्रबार, १९ भदौ, २०७७, बिहानको ११:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर