कोरोनाको बहाना : उपचार नपाएर विरामीको मृत्यु

विराटनगर । कोरोना भाइरसको महामारीको नाममा अन्य विरामीहरुले समयमा उपचार नपाएर ज्यान गुमाउने घटना बढ्न थालेका छन् । कोरोना महामारी सुरु भएपछि विराटनगरमा मात्र आधा दर्जन बढिको उपचार नपाएर मृत्यु भएको छ भने गएको २ दिनकै अन्तरालमा दुई जनाको उपचार नपाएर मृत्यु भयो ।

विराटनगरका निजी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरकी एक महिलाको आइतबार मृत्यु भयो । खाना सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगण्ढी–६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतको विराटनगरका कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि फर्काएर घर लगिएकोमा मृत्यु भएको हो ।

शनिबार साँझ खाना सर्किएपछि बेहोस भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै आफन्तले विराटनगर ल्याएका थिए । शनिबार राति ११ बजे विराटनगरमा विरामी ल्याएका आफन्तले रातभर अस्पतालको गेट घुमिरहे । मेडिकल हब मानिएको विराटनगरका ७ वटा अस्पतालले विरामी भर्ना गर्न मानेनन् ।

सुरुमा विराट नर्सिङ होममा विरामी लगेकोमा आइसियू छैन भन्दै फर्काइदिएको थियो । त्यसपछि विरामीलाई गोल्डेन लगिएकोमा गेटबाटै फर्काइदियो । गोल्डेनपछि बुढीगंगा–२ मा रहेको विराट मेडिकल कलेज पुग्दा उसले पनि भर्ना नगरेपछि म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल हुँदै अन्तिममा ग्रिनक्रस अस्पतालसम्म उनलाई लगियो । नोबेल मेडिकल कलेज र धरानले नल्याउनु भनेपछि उनलाई घर फर्काएको एम्बुलेन्स चालक दीपक खत्रीले बताउनुभयो ।

बिरामीको अवस्था पनि नबुझी अस्पताहरुले गेट बाहिरबाटै फर्काइदिएको आफन्तको भनाइ छ । अन्तिममा गोल्डेन अस्पतालले भर्ना लिएको भएपनि बिरामीको अवस्थाा गम्भीर भएकाले आईसीयूमा राख्नुपर्ने तर अस्पतालको आईसीयू खाली नभएको भन्दै निकालिदियो ।

कोशी अस्पतालमा भने भेण्टिलेटर नभएकाले आफन्तले पुर्‍याएनन् । अस्पतालले भर्ना नलिएपछि आइतबार बिहान उनलाई घर फर्काइयो । घर पुगेको केही घण्टापछि उनको मृत्यु भयो ।

यसअघि गत बिहीबार मोरङ पथरीशनिश्चरे नगरपालिका– २ की ६२ वर्षीय सानकुमारी राईको पनि अस्पतालले भर्न नलिँदा उपचार नपाएर मृत्यु भएको थियो । एक्कासी पिसाब बन्द भएपछि बुधबार राति पथरीमा रहेको मोरङ डाइग्नोष्टिक सेन्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड लगिएकी उनलाई बिएण्डसीले गेटबाटै फर्काइदियो ।

आफन्तले मध्यरातमा उपचारका लागि विराटनगर ल्याएर सबै अस्पताल चाहारे । तर, कसैले पनि भर्ना लिन माननेन् । विराट मेडिकल कलेज, विराट नर्सिङ होम, गोल्डेन अस्पतालले गेटबाटै फर्काएपछि उनलाई नोबेल लगिएकोमा इमरजेन्सी बन्द भन्दै भर्ना लिएन । बुधबार रातभर निजी अस्पताल डुलाएर बिहीबार बिहान कोशी अस्पतालमा पु¥याउँदा उनको अवस्था नाजुक भइसकेको थियो ।

कोशीमा आफन्तले धेरै अनुरोध गरेपछि मात्र एम्बुलेन्सबाट निकालेले सानुकुमारीलाई आइसोलेसनमा राखियो । त्यसको आधा घण्टा नबित्दै उनको मृत्यु भयो । रातभरी अस्पताल डुलाएपनि कतै भर्ना गर्न नमानेकोले आमाको मृत्यु भएको छोरी मेनुका राईले बताउनुभयो ।

मृतकको कोरोना जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमण जोखिमको बहानमा कारण निजी अस्पतालले लापरवाही गर्दा मृत्युवरण गर्ने सानकुमारी डम्बरकुमारी मात्र हैनन् । कोरोना महामारी सुरु भएपछि आधा दर्जन बढिको मृत्यु विराटनगरका अस्पतालले भर्ना नलिएकै कारण भइसकेको छ । उनीहरुमा कोरोना संक्रमण भने थिएन ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै पहिले पीसीआर परीक्षणपछि नतिजा नेगेटिभ भएमात्रै बिरामी अस्पताल ल्याउनु भन्दै अस्पतालहरुले विरामी फर्काउने गरेका छन् । नोबेल मेडिकलसहितका ठूला अस्पतालले भर्ना नलिएका कतिपय विरामीको भने कोशी अस्पतालले सफल उपचार गर्दै आएको छ । तर, कोशीमा भेन्टिलेटर नभएकोले गम्भीर प्रकृतिका विरामीको उपचार संभव नहुने गरेको छ ।

सरकारले सबै अस्पताललाई कम्तिमा २० प्रतिशत बेड कोरोना संक्रमितको लागि छुट्याएर उपचार थाल्न निर्देशन दिएको छ । विराटनगरका विराट मेडिकल कलेज र न्युरो अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने घोषणा गरेका छन् । तर, कोरोना नलागेका अन्य विरामीले भने अस्पताल भर्ना हुनै नपाई ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था छ ।

सरकारले कोरोनाको बहानामा उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिँदै आएको छ । विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पताललाई कडा कार्वाही गर्ने चेतावनी प्रदेश सरकार र संघीय सरकारका मन्त्रीहरुले दिइरहेका छन् । तर, उपचार नपाएर विरामीको मृत्यु भइरहँदा उनीहरुको कुनै चासो र सरोकार देखिएको छैन ।

निजी अस्पताल बिरामी भर्ना नगर्दा समस्या आएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने अस्पताल सञ्चालकलाई बोलाएर छलफल गर्ने बताउनुभएको छ । अस्पताल सञ्चालकलाई कानूनको बारेमा सम्झाने र अटेर गरेमा कार्वाही गर्ने चेतावनी उहाँले दिनुभएको छ ।

सोमबार, १५ भदौ, २०७७, दिउँसोको ०१:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर