प्रदेश १ मा ३९ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या २४० पुग्यो

विराटनगर । प्रदेश १ मा शुक्रबार एकैदिन थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना कोरोना संक्रमितको संख्या २४० पुगेको छ । तीमध्ये ७८ जना उपचारपछि निको भएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी र भोजपुरमा गरी ३९ जनामा कोरोना पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार झापाको कचनकवल गाउँपालिकामा १०, गौरदहमा १, मोरङको रतुवामाई नगरपालिकामा ६, सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा १२, धरानमा १ र बराहक्षेत्र नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

बराहक्षेत्रमा संक्रमण पुष्टि भएको ७ वर्षीय बालिका हुन् । सुनसरीकै बर्जु गाउँपालिकामा ३ जना, भोजपुरको षडानन्द गाउँपालिकामा ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा संक्रमण देखिएको हो ।

भोजपुरका संक्रमित पाँचै जना भारतबाट आएको खुलेको छ । सुनौली नाका हुँदै १३ जेठमा आइपुगेका उनीहरूलाई अरुण गाउँपालिकाको जरायोटारमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

शुक्रबार, २३ जेठ, २०७७, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर