बिहीबार अहिलेसम्मकै धेरै ३३४ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभनदा धेरै ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप भएका संक्रमितसँगै नेपालमा कारोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारीअनुसार कर्णाली प्रदेशको दैलेखमा मात्र १ सय १३ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १ सय ८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

प्रदेश १ को झापामा झापामा ५ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये भद्रपुरका ३ जना र कचनाकवलका दुई जना छन् । यस्तै खोटाङको हलेसीका ३ जनामा पनि संक्रमण देखिएको छ।

प्रदेश १ कै मोरङको सुन्दरहरैंचाका २४ वर्षीय पुरुषमा, सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वर्षीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकरएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् ।

बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू मध्ये ४० जना जानकी गाउँपालिकाका १ का हुन् । २ जना नेपालगञ्जका हुन् ।

कपिलवस्तुमा २९ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष छन् । यस्तै, यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टिनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी दाङमा १५ जना, सप्तरीमा १३ जना, बारामा १२ जना, बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषामा ६ जना, महोत्तरीमा ३ जना, डोटीमा ३ जना, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

कोरोना संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ भने २ सय ९० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहिबार, २२ जेठ, २०७७, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर